पूर्व राष्ट्रपतिको विरोधमा एमाले अध्यक्ष, विद्यामा ‘लिडरशिप’ नरहेको ठहर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनप्रति खुलेर असन्तुष्टि जनाउनुभएको छ । गणतन्त्रको मर्यादा कायम राख्न राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा फर्किन नहुने तर्क उहाँले गर्नुभयो ।
पत्रकार विजयकुमार पाण्डेसँगको कुराकानीमा ओलीले पूर्व राष्ट्रपतिले पार्टीमा फर्किनेबारे आफूसँग सरसल्लाह नगरेको दाबीसमेत गर्नुभएको छ । ‘विद्याजीले कहाँ–कहाँ गएर परामर्श गर्नुभयो होला तर मसँग चैं गर्नुभएको छैन’, पूर्व राष्ट्रपतिहरूको भूमिकाबारे लामो व्याख्या गर्दै भन्नुभयो, ‘परामर्श नभैकन पार्टीको अध्यक्ष म छँदैछु, पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन ।’
अध्यक्ष ओलीले यसरी अनभिज्ञता प्रकट गरे पनि गत असार १४ गते उहाँ स्वयं उपस्थित भएको कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरिसकेको बताउँदै पार्टी राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । त्यसपछि पनि उहाँले विभिन्न सार्वजनिक मञ्चबाट त्यसबारे बोल्दै आउनुभएको छ ।
तर, ओलीले भने भण्डारीका पछिल्ला गतिविधिप्रति प्रष्ट रुपमा असन्तोष व्यक्त गर्नुभएको छ ।
‘म राजनीतिमा आउँछु, कसरी काम गरौं, आउन मिल्छ मिल्दैन आउँ कि नआउँ, संवैधानिक प्रक्रिया के हुन्छ, प्रणालीगत हिसाबले के हुन्छ, पदको गरिमाको हिसाबले फेरी सक्रिय राजनीतिमा आएर एउटा दल विशेषको कार्यकर्ता हुन आउँदा कस्तो हुन्छ, यो विषयमा बिचार विमर्श गरौँ भनेर अहिलेसम्म भन्नुभएको छैन’, उहाँले भन्नुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले भने एमालेको नेतृत्वमा स्थापित हुने तयारीका साथ पार्टीमा फर्किएको स्पष्ट पारिसक्नुभएको छ । पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा उहाँले ओलीको सहयोगमा नै आफू अध्यक्ष हुने विश्वास गर्दै नभए मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने बताउनुभएको थियो ।
तर, उहाँलाई एमालेमा स्वागत गर्ने विषयमै ओलीले आनाकानी गर्नुभएको छ । यसबारे पार्टीले निर्णय लिने उहाँले बताउनुभयो ।
‘उहाँ हाम्रै पार्टीको उपाध्यक्ष हुनु हुन्थ्यो । हामीले नै उहाँलाई राष्ट्रपति बनाएर पठाएका हौँ, यो अवस्थामा राष्ट्रपतिबाट बिदा भइसकेकपछि पार्टीमा फर्किने विषय गम्भीर छ । यसबारे पार्टीले संस्थागत रूपमा निर्णय गर्नु जरूरी हुन्छ’, ओलीले भन्नुभयो ।
विजयकुमारले थप स्पष्ट हुन यस विषयमा एमालेले निर्णय गर्छ ? भनी सोधेको प्रश्नमा भन्नुहुन्छ, ’उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि निर्णय त गर्नैपर्छ । उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गर्नुपर्ने निर्णय पार्टीले गर्छ ।
अध्यक्ष ओलीले यसबारे निर्णय लिन धेरै ढिलो निर्णय नगर्ने पनि स्पष्ट पार्नुभएको छ ।
‘कहिलेसम्ममा निर्णय गर्छ एमालेले ?’ विजयकुमारको प्रश्नमा उहाँको जवाफ छ, ’त्यो हेर्नुपर्छ । सल्लाह गर्नुपर्छ । उहाँले आफैंले विचार गर्नुपर्छ । खोइ के बोलिराख्नुभएको छ । हामीले पनि जानकारी प्राप्त गरेका छौं । सार्वजनिकरूपमा बोलेका कुराहरूमा हामीले उहाँसँग सोध्नुपर्छ । धेरै ढिला गर्दैनौं ।’
पूर्व राष्ट्रपति भण्डारी पार्टी नेतृत्वका लागि सक्षम नरहेको निष्कर्षसमेत ओलीले सुनाउनुभएको छ ।
’कतै तपाईंले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्नका लागि सुविचारितरूपमा लिएको रणनीति त होइन ?’ भन्ने प्रश्नमा प्रष्ट भन्नुभयो, ’अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त उहाँ पोल्टिक्समा आउँन हुन्छ भनेर पार्टीले ठानेको मानेको नै छैन । दोस्रो उहाँ पार्टीको काम छाडेर बाहिर जानुभएको धरै वर्ष भइसकेको छ । पहिले पनि लिडरशिपमा बसेर काम गरेको संगठनात्मक अनुभव उहाँसँग छैन ।’
टिप्पणीहरू