खुमलटारमा दुई घण्टा लामो बातचित
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न कोइराला आज दिउँसो खुमलटार पुगेका हुन् ।
पौने ३ बजे प्रचण्ड निवास छिरेका उनी साँझ ५ बजे बाहिरिएको बताइन्छ । कांग्रेस–एमाले गठबन्धन सरकारको विपक्षमा रहेका कोइराला एकाएक खुमलटार पुगेको विषयले राष्ट्रिय राजनीति तरंगित भैरहँदा प्रचण्डको सचिवालयले भने यो भेटवार्तालाई पूर्वनिर्धारित भनेको छ ।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार शेखरले हिजो नै भेट्न खोजे पनि अध्यक्षको व्यस्तताका कारण समय मिलेको थिएन । त्यसपछि आजका लागि भेट तय गरिएको हो ।
दुई घण्टा लामो भेटमा समसामायिक राजनीतिक घटनाक्रम, मुलुकको अर्थतन्त्र, निर्वाचन प्रणाली र रुपन्देहीमा हुन लागेको उपनिर्वाचनको विषयमा छलफल भएको बुझिएको छ । सो क्रममा कोइरालाले सभापति शेरबहादुर देउवाले एमालेसँग गरेको सत्ता सहकार्यप्रति असन्तुष्टि जनाएको बताइएको छ ।
भेटवार्ताका विषयबस्तुबारे जिज्ञासा राख्दा आचार्यले प्रष्ट बताउन चाहेनन् ।
टिप्पणीहरू