पूर्व राष्ट्रपतिको एमाले प्रवेश विषय ‘सिरियस’
नेकपा एमालेको सचिवालय बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको विषयले प्रवेश पाएको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैँले उक्त विषय उठाउनुभएको बताइएको छ ।
सचिव योगेशकुमार भट्टराईका अनुसार अध्यक्षले भण्डारीको विषयमा आवश्यक छलफल हुने जानकारी दिनुभएको छ । ‘अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौं भन्नुभएको छ’, खाजा समयमा बाहिर निस्किएका बेला उनले भने, ‘आजको बैठकमा भ्याइएन भनेपनि कुनै न कुनै बैठकमा छलफल हुन्छ ।’
भण्डारीले पार्टीमा फर्किने निर्णय गरिसकेकाले यो अब पार्टीको मामिला बनेको पनि भट्टराईले प्रष्ट्याए । जिम्मेवारी दिने सम्बन्धमा भने उच्च तहमै छलफल हुनुपर्ने उनको धारणा छ ।
‘अध्यक्षज्यूले चासो दिनुभएको छ, उहाँ (भण्डारी) आफैँ यो पार्टीको स्थापनाकालदेखि जोडिनुभएको छ, पार्टीको प्रणाली के हो उहाँलाई राम्ररी थाहा छ, उहाँले के चाहनुभएको हो ? उहाँले चाहेको कुरा बाहिर सार्वजनिक रुपमा बोलेर त हुँदैन, त्यो प्रणालीबाटै हुने हो, लगायतका कुरा उठेको छ’, उनले भने ।
भट्टराईले प्रधानमन्त्री ओली भण्डारीको विषयमा गम्भीर रहेको पनि जानकारी दिए । भने, ‘पार्टीले राष्ट्रपति बनाएर पठाएको मान्छे फेरि पार्टीमा फर्किने विषयलाई अध्यक्षज्यूले सिरियस्ली नै लिनुभएको छ, औपचारिक वा अनौपचारिक बैठकमा उहाँ (भण्डारी)लाई बोलाएर छलफल गर्ने उहाँको चाहना छ ।’
टिप्पणीहरू