पदाधिकारी घटाउँदै, उमेर हद र कार्यकाल प्रावधान हटाईंदै

पदाधिकारी घटाउँदै, उमेर हद र कार्यकाल प्रावधान हटाईंदै

नेकपा एमालेमा पदाधिकारी संख्या घटाउने प्रस्ताव गरिएको छ । आजको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा उक्त विषय उल्लेख गरिएको जनाइएको छ । 

एमालेमा अहिले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवसहित १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष पद हटाएर पदाधिकारीको संख्या ११ कायम गर्ने प्रस्ताव गरिएको छ ।

एमालेले यसअघि नै जनसंगठनहरूमा १ अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, १ उपमहासचिव र ५ सचिवसहित ११ जनाको पदाधिकारी रहनेगरी विधान संशोधन गरेको थियो । पार्टीमा पनि सोही प्रावधान लागू गर्न अध्यक्षको तर्फबाट ल्याइएको प्रस्तावमाथिको छलफल अहिले पनि जारी छ । 

त्यस्तै, बहुचर्चित ७० वर्षे उमेर हद र २ कार्यकालको प्रावधान हटाउने प्रस्ताव गरिएको छ । ७४ वर्ष पुगिसकेका अध्यक्ष केपी शर्मा ओलीलाई सजिलो हुनेगरी ल्याइएको यस प्रस्तावप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित अन्य नेताहरूले असन्तुष्टि जनाएको बताइएको छ ।

टिप्पणीहरू