धोकापूर्ण तरिकाले पारिश्रमिक तोकिएको भन्दै बदरको माग
नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले धोकापूर्ण तरिकाबाट श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको भन्दै विरोध जनाएको छ ।
सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले निकट ट्रेड युनियन महासंघसँग मात्र छलफल गरेर श्रमिकको जीवन धान्न नै कठिन हुने किसिमले पारिश्रमिक तोकिएको उसको आरोप छ । महासंघले आज विज्ञप्ति जारी गर्दै बिचौलियाहरुको सहमतिमा निर्धारण भएको पारिश्रमिकले श्रमिकको आकांक्षा र आवश्यकताको हत्या गरेको बताएको छ ।
‘जीवन उपयोगी पारिश्रमिक निर्धारणको आशामा बसेका लाखौं श्रमिकहरुको पेटमा छुरा प्रहार गरी श्रमिकको जीवन धान्न नै कठिन हुने किसिमले हाल कायम रहेको १७ हजार ३०० रुपैयाँ न्यूनतम पारिश्रमिकमा २ हजार २५० रुपैयाँ थप गरी १९ हजार ५५० मात्र कायम गर्नेगरी सहमति गरेको भन्ने जानकारी भएकोले हाम्रो महासंघ यसलाई सरकार आबद्ध ट्रेड युनियन महासंघहरु नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रमिकहरुलाई गम्भीर धोका दिएको ठहर गर्दै बिचौलियाहरुको सहमतिमा निर्धारण भएको पारिश्रमिकले श्रमिकहरुको आकांक्षा र आवश्यकताको हत्या गरेको निष्कर्षमा पुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यसरी गैरकानूनी र धोकापूर्ण रुपमा निर्धारण गरिएको पारिश्रमिक बदर गरेर श्रमिकको जीवन निर्वाह हुनेगरी तोक्न आग्रह गर्दै महासंघले षड्यन्त्रपूर्वक निर्धारण गरिएको पारिश्रमिकको विरोध तथा कपटपूर्ण कार्यको भण्डाफोर गर्न देशभरका श्रमिकलाई अपिलसमेत गरेको छ ।
टिप्पणीहरू