के हो जात ! सालको पात कि धानको भात ?
प्राण हुने सबै प्राणी हुन् । कोही पशु, कोही पन्छी, कोही मानव, कोही वनस्पति र कीरा फट्याङ्ग्रा छन् । कीरा जातिमा पनि सर्प भिन्नै, गड्यौला भिन्नै हुन्छ । माछा, गँगटा, मौरी, पुतली, माखा, लामखुट्टे पनि बनोटैले फरक छन् र पो तिनको जातै फरक हो ।
मान्छेको त सबैको बनोट उस्तै छ । शरीरको ढाँचा अनुसार महिला र पुरुषमा भिन्नता छ । मन त कसैको देखिन्न नै । तर महिला र पुरुषको शारीरिक बनावट अनि प्राकृतिक गुण र विशेषता पनि फरक नै छ । महिलाले बच्चा जन्माउँछन्, पुरुषले सक्दैनन् । जीवमात्र होइन वनस्पति पनि भाले–पोथी हुन्छन् । अपवादमा दुनियाँलाई छक्क पार्ने एकाध तेस्रोलिंगी पनि छन् । यो सृष्टिको रचना नै अचम्मको छ, बुझिनसक्नुको अपरम्पार । यहाँ जीवन भएका सजीव, नभएका निर्जीव छन् ।
नेपालमा थर र जात भनी लेखिँदै आएको शब्द ऊबेला कामको आधारमा छुट्याइएको हो भन्ने छ । भूगोलको आधारमा पनि थर र जात कायम भएको पाइन्छ । जेहोस्, अल्पसंख्यकमाथि थिचोमिचोका लागि उच-निच दर्ज हुने गरी विभिन्न थर शब्द निश्चित जातिका नाममा लादिँदै आयो । र अहिले पनि त्यसैलाई मान्छेको पहिचानको रुपमा देख्ने देखाउने, लेख्ने लेखाउने गरिँदा समाजमा जातीय विभेद कायमै छ । त्यसैको आधारमा फलानो दलित, फलानो गैरदलित भनेर विभाजन गरिनु जातीय प्रथाको निरन्तरतामात्र हो ।
जात भनेको त आकारप्रकार अनि गुण, स्वभाव र विशेषतासमेत हो । गुरुङ, मगर, दमाई, कामी, बाहुन, क्षेत्री भनिएकाहरूमा क्षमतामा केही फरक छ र ? फरक छ त केवल अवसरको– सामाजिक, आर्थिक, राजनीतिक हैसियतको । सानो जात भनेर पहिल्यैदेखि थिचोमिचो गरी अलग्याउँदै आए, अहिले पनि जातीय व्यवस्था कानुनबाट नहटाइ उही थर लेख्ने उही जात मान्ने परिपाटीले भेदभाव भइरहेछ । अब थर भनेर लेखिने शब्दलाई कुनै पनि अर्थमा जातीय पहिचान बनाइनु हुँदैन ।
नयाँ संविधानमा समेत त्यही थर र जातिकै आधारमा दलित र गैरदलित भनेर वर्ग विभाजन गरिएको छ । यसरी जातिगत तवरले होइन दलितको परिभाषामा आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक अनि राजनीतिक रुपमा पछाडि परेका सबै थर लेख्नेलाई समेटिनुपर्छ । हामीले थर भनेर लेख्दै आएको जात प्रकृतिप्रदत्त होइन । त्यसैले यो बनावटी जातीय व्यवस्था नै समाजमा नराखौं अनि बल्ल विभेद हुँदैन ।
मान्छेको दुईवटा खुट्टा हुन्छ, पशुका चारवटा अनि चराको पखेटा भएर त जातै फरक भए । फरक जातको हुनलाई सर्वप्रथम बनोट नै फरक हुनुपर्छ । हेर्दै प्रस्ट छुट्टिनुपर्छ र फरकपनको विशेषता समेत रहनुपर्छ । कुकुर, बिराला, बाघ, भालु, गैंडा, हात्ती, कुखुरा, बाख्रा सबैको बनावट र विशेषता पनि अलग्गै छ । त्यसैले ती पशुका जात भन्न सक्छौं । भँगेरा, काग, डांग्रे, परेवा, सुगा, मैना आदि सबै सबै पक्षीको रुपरंग, चालढाल र समुदायसमेत अलग प्रकारको छ । त्यसैले चराका पनि ती फरक जात हुन् ।
वनस्पतिमा कति अन्न, गेडागुडी छन् । कति फलफूल, तरकारी । कति फूलमात्रै छन् त कति रुख, लहरा र झार छन् । ती सबैको रुपरंग, आकारप्रकार, गुण र उपयोगिता नै फरक छ । धान र मकै त्यसै फरक भएकै होइन । तिनको फल्ने, फुल्ने तरिका पनि बेग्लै छ । त्यसैले ती अन्नका फरक जात हुन् । तर मान्छे सबैको जन्मिने, हुर्कने, बढ्ने, तन्नेरी र बूढो हुने, मर्ने उसरी नै हो ।
धानको बीज रोपेर तोरी फल्दैन । खुर्सानी पिरो हुन्छ, उखु गुलियो, करेला तीतो । साल र सल्लाको पत्तै फरक हुन्छ । चामल सबै भात नै हुन्छ । रुख र फूलहरु पनि रुपरंग एवम् आकार प्रकारैले विभिन्न छन् । मान्छेको अनुहार त हरेकको फरक नै छ । फरक अनुहारमा केही फरक भाव हुन सक्ला । नत्र कपाल सबैको टाउकोमै छ । खुट्टा तल, लिंग मध्यमा र हात माथि काँधदेखि उसैगरी बनेको छ । अरु फरक के छ र ? नाक, मुख, आँखा, कान सबैको अनुहारमा उही ठाउँमा उति नै छन् । दुईवटा मुख, एउटा आँखा कसैको छैन । बरु अंग भनिने ती शरीरका जात हुन् । कानको काम आँखाले गर्न सक्दैन । नाकले मात्र सुँघ्न सक्छ ।
मानिसको शरीर वा निधारमा कहीँकतै नलेखिएको कुरालाई मान्छेले नै थरको रुपमा लेखाइ त्यसै अलग अलग जात भनिदिने ? कतिले हाम्रो भाषा पनि फरक छ भन्लान् । भाषा पनि भूगोलअनुसार निर्माण भएका हुन् । नत्र पश्चिम र पूर्वमा बस्ने मगरै भन्नेहरुको पनि भाषा किन भिन्न छ ? नसिकी मान्छेले शब्दसमेत जान्दैन ।
जन्मिनेबित्तिकै वा सानैदेखि कोही बाहुन भन्नेको सन्तानलाई गुरुङ भाषा बोल्नेको घरमा लगेर राखिदिने हो भने ऊ पनि खररै गुरुङभाषी भइहाल्छ । सानैदेखि कोही नेपालीलाई चीन वा जापानमा राखेर हुर्काउने, त्यहीँको भाषा बोल्ने बोलाउने गरियो भने ऊ पनि चिनिया र जापानी जसरी नै सरर उनीहरुको भाषा बुझ्न र बोल्न सक्छ । सानैदेखि अभ्यास भए उच्चारणको लयमा पनि फरक पर्दैन ।
भूगोल र वातावरणअनुसार मान्छेको जीउडालमा पनि केही फरक हुन सक्छ । तराईमा बस्ने थारु र हिमालमा बस्ने शेर्पा भन्नेहरुको रुपमा यस्तै केही भिन्नता देखिन्छ । त्यो भूगोलले नै गर्दा भएको हो, मानवै फरक होइनन् । स्याउ तराईमा हुँदैन । यती, पान्डाहरु हिमालमै बस्छन् । भू–धरातलअनुसार हावापानी र माटो सुहाउँदो शरीरको बनावट बन्न जान्छ । कद हावापानी र खान्कीअनुसार नै विकसित हुने कुरा हो ।
उत्तरी भेगमा बस्ने अलि होचा, थेप्चा, गोरा भए, दक्षिणतिर गर्मी भेगमा बस्ने अलि काला, लाम्चा र केही अग्ला पनि भए । त्यो हिसाबमा आर्य र मंगोलिनको केही भिन्नता देखिन्छ । नत्र झट्ट हेर्दा को मगर, को बाहुन, को दमाई, क्षेत्री, नेवार, राई कोही पनि अलग छैन । लामो कपाल र अनुहारको मेकअप नहुने हो भने छाती समेत नहेरी महिला, पुरुष पनि चिनिन्न ।
त्यसै जात जात भनेर हुन्छ ? थरको आधारमा त्यत्तिकै सानो जात, ठूलो जात रे ! कदमा पनि कथित गुरुङ, मगरभन्दा दमाई, कामी भनिनेहरु नै अग्ला हुन्छन् । नाक पनि राई लिम्बुको भन्दा चुच्चै हुन्छ । आकार प्रकार अनुसार फलको स्वाद केही फरक पर्न सक्छ । डल्ले खुर्सानी, जिरे खुर्सानी र भिन्डे खुर्सानीको स्वादै फरक छ । कागतीको स्वाद नासपातीमा पाइँदैन । केराउ बरु छोपेर छोडिदिए आफैँ फल्न सक्छ तर मान्छेले बच्चा जन्माएपछि हुर्काउनै पर्छ ।
तैपनि अझै मानव समाजमा कसैको परिचय सोध्नुपर्दा तिमी के थरी हौ ? भनेर सोध्ने चलन छ । नाममात्र भन्दा जात के हो नि भन्छन् अज्ञानी मूर्खहरु । उहिलेदेखि पानी नचल्ने भनिएको थर लेख्दै आएकाहरुलाई अहिले पनि त्यही नजरले हेरिन्छ, मुखैले नभनेपनि । विश्वकर्मा, परियार भन्दा उही दमाई, कामी र अछूत वर्ग भन्ने सोच नै स्थापित छ । यसरी पीडितहरु अझैसम्म होचिएरै रहेका छन् । तसर्थ थर व्यवस्थामा फेरबदल भएर, थरको आधारमा रहेको जातीय व्यवस्थाको उन्मूलन नभएसम्म विभेद कायमै रहने छ । त्यसैले पीडितहरु सबैले थर फेर्न थालौं ।
जाती–नजाती त मान्छेको स्वभाव हो । बाहुन क्षेत्री भनिनेहरु पनि चोर, डाँका, फटाहा, हत्यारा, बलात्कारी, भ्रष्टाचारी छन् । तामाङ मगर, दमाइ कामी, नेवार, थारु अरु पनि सबै सबै सज्जन पनि छन्, दुर्जन पनि छन् । असल र खराब चालचलन त व्यक्तिगत प्रवृत्ति हो । थर शब्दको आधारमा स्वभाव तय हुने होइन । जस्तो स्कुलिङ हुन्छ, उस्तै सोचव्यवहार, गुण–स्वभाव मान्छेमा समाउँछ । वर्णलाई बरु जात मान्न सकिन्छ । किनकि फरक प्रस्ट देखिन्छ । रातो, कालो, सेतो, पहेंलो, हरियो रंगको भिन्नता हेरेरै देखिन्छ । त्यसैले ती पनि रंगका जात भन्न सकिन्छ । तर गाई जस्तो रंगको भएपनि, जत्रो भएपनि तिनले ब्याएपछि दूधै दिने हुन् । तेल दिने अर्काे गाई भएको भए बरु गाईको छुट्टै जात भन्न सकिन्थ्यो ।
अब त जातै नभनौं, किसिम भनौं । जात शब्दले मान्छेमा नचाहिँदो विभेद भो । निधारमै लेखेर आएको भए वा प्राकृतिक रुपमै शरीरमा डामिएको भए मान्न सकिन्थ्यो । थर भनेर कागजमा लेखिँदै आएको शब्दले नै समाजमा विभेद विद्यमान छ । हो, मान्छेको अनुहारचाहिँ प्रत्येकको फरक नै छ । त्यस हिसाबले हरेक व्यक्ति मान्छेको एक अलग जात हो । तर मानव जीवनको विशेषता भने एउटासँग जे छ अर्काेसँग पनि त्यही छ । सिक्यो, जान्यो र गर्यो भने जसले जे जुनै सीप, श्रम र सेवा दिन सक्छ ।
जन्मँदै हरेक मान्छेले कुनै विशेष काम लिएर आएका भए हो त भन्नु । मान्छेमा जन्मजात सीप भन्ने नै हुँदैन । आजीवन मान्छे एउटै काममा लाग्छ भने त्यही अनुसार उसको सीप, कौशल र सोच व्यवहार बन्न जाला । बाबुबाजे ले काम गर्दै आए, सन्ततिले उही काम नसिक्न, नजान्न र नगर्न पनि सक्छन् । अरुका बच्चाले पनि चाह्यो भने सिकेर गर्न सक्छ ।
अहिले अरु जात भन्नेले पनि टेलर्स सिकेकै छन्, गरेकै छन् । तर जातीय विभेदका पक्षधारीहरुबाट अझै पनि केही दलित भनिनेहरुलाई परियार समाज भन्दै पञ्चेबाजा हाम्रो भन्न उक्साइएको छ । बढी फाइदा हुने भएर सुनारहरुले सुनको काम पनि हाम्रै भन्लान् तर त्यो थरका हिसाबले समुदायमा सदा तल्लो जात भनेरै परिभाषित भइरहने छन् । लुगा सिउने त पेशा मात्र हो, जात होइन । बाजा बजाउने पनि कला हो, जात होइन । निरन्तरको अभ्यासले मात्र सीप र कलामा निखारता ल्याउँछ ।
व्यक्तिलाई बोलाउन, चिन्न चिनाउन नाम लेख्नुपरेको हो । नत्र त्यो पनि आवश्यक थिएन । अब नाम भनेर एउटा वा दुई, तीन, चार, पाँचवटै शब्द लेखेपनि तिनलाई थर नभनौं । नाम पनि आफ्नो अभिभावकले सानोमा राखिदिएकै जीवनभर बोकिरहनुपर्छ भन्ने नहोस् । कसैलाई हरि नाम मन नपर्ला, त्यस्तो हिन्दू भगवानको नाम पनि के राख्ने भन्ने होला । उसलाई प्राकृतिक नाम मन पर्ला, आफ्नै इच्छा अनुसार आकाश वा सागर नाम उसले बुझ्ने भएपछि आफ्नो राष्ट्रिय परिचयपत्रमा लेखाउन पाउनुपर्छ । अहिलेलाई जन्मदर्ता गर्दा बाबुआमाले नै थर चाहिँ फेरेर राखिदिऔं । पछिपछि बालिगले आफ्नो नामथर आफ्नै चाहनामा राख्ने व्यवस्था पनि हुँदै जाला । अहिलेको जमानामा लिंग त फेर्न सकिन्छ भने नामथर किन नपाउनु ?
टिप्पणीहरू