दलित कमरेडहरुलाई दोस्रो दर्जा
एमाले महाधिवेशनका लागि लमजुङ जिल्लामा भएको प्रतिनिधि छनौटमा दलितहरुले अन्य जातका उम्मेदवाराई भोट हाल्न नपाएको भन्दै नाराबाजीसहित ढुंगा प्रहार गरे ।
देशैभर एमालेका दलितले दलितलाई मात्रै मतदान गर्न पाउने सर्कुलर जारी भएको थियो । दलितहरुलाई खुला सिटबाट पनि महाधिवेशन प्रतिनिधिको रुपमा प्रतिस्पर्धा गर्न दिइएन । लमजुङ जिल्लामा मात्रै एमालेका संगठित सदस्य ७ सय भन्दा बढी छन् । खुलातर्फ ४ हजार ७ सय सदस्यमध्येबाट चार जनाले प्रतिनिधिमा छनौट हुने अवसर पाएका तर तिनले पनि दलित उम्मेदवारलाई मतदान गर्न पाएनन् । पृथ्वीसुब्बा गुरुङको जिल्लामा चार जना गुरुङ छिनाझप्टीमा हार्न पुगे । टेकेन्द्रप्रसाद अधिकारीले सबैभन्दा धेरै मत ल्याए ।
सुभाष पौडेलको जितमा मायानाथ अधिकारी र जमिन्द्रमान घले खुलेनन् । घले गाउँका प्रेमबहादुर घले, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, युवासंघ केन्द्रीय सदस्य गोविन्द बस्नेत, जिल्ला उपसचिव विवश बुुढाथोकी, लेखा समिति सदस्य इश्वर पौडेल, श्यामबहादुर थापा, पूर्व उपाध्यक्ष भीम गुरुङहरु भारी मतान्तरले पराजित भए । मतदानमा भाग लिने संगठित सदस्यको संख्या १ हजार ९ सय १७ मात्रै रह्यो ।
दलितका निम्ति अलग्गै मतपत्र थियो । जङ्गबहादुर सुनार र हरिबहादुर बिकले केपी ओली मूर्दाबाद भन्दै नारा लगाए । सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी र जिल्ला अध्यक्ष राजकुमार विष्ट निर्वाचित भए । महिलामा यशोदा रेग्मी गण्डकी प्रदेश सांसद, पूर्व उपमेयर लक्ष्मी अधिकारी, पदमा गुरुङले जिते । दलिततर्फबाट हिरालाल र नन्दलाल बिक आए । युवा तर्फ हजारभन्दा बढीको मतान्तरले विनय तामाङ्ले जिते । दुई जनाबाहेक सबै प्रतिनिधि बेंशीशहरबाट निर्वाचित भए ।
रातको ११–१२ बजेतिर मतगणनास्थलमा मदिरासेवन गरी आएको युवा उम्मेदवार रोशन तामाङ नेतृत्वको एक हुलले पार्टी अफिसको झ्यालमा मुक्का बजार्यो । ७ नम्बर वडाध्यक्ष ऋषि बस्नेत र रोशन गुरुङबिच मतदानस्थल बाहिर हात हालाहालसमेत हुन पुगेको थियो ।
लमजुङबाट जमिनुमान घले, मायानाथ अधिकारी, केन्द्रीय अनुशासन आयोगकी टीका हमाल, अनेमसंघ अध्यक्ष कल्पना थापा, गण्डकी सचिव धनेन्द्र दवाडी, प्रेस चौतारीका गणेश पाण्डे, पूर्व मओवादी नेता गोवर्धन गौली, कतारबाट विष्णुलाल श्रेष्ठ र अमेरिकाबाट प्रभुराम थापाले भाग लिने भएका छन् । पार्टी सदस्य नै नभएका चन्द्रा गुरुङलाई पनि प्रतिनिधि बनाइएको दावी भनी विरुद्ध उजुरी परेको छ ।
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू