शिवलिङ्ग उखेलेर जिम सामग्री

शिवलिङ्ग उखेलेर जिम सामग्री

ललितपुर महानगरपालिका–५, थसिखेलस्थित महालक्ष्मी मन्दिर परिसरमा आधुनिक शैलीमा बनाइएको संरचना र व्यायाम सामग्री हटाउन निर्देशन दिइएको छ । पुरातत्व विभागले ऐतिहासिक र पुरातात्विक सम्पदा हटाएर नयाँ संरचना बनाइएकोमा आपत्ति जनाउँदै अर्कोतर्फ व्यायाम सामग्री राखिएकोमा कडा निर्देशन दिएको छ । 

मन्दिर परिसरमा रहेको शिव लिङ्गसमेत हटाएर व्यायाम सामग्री राखिएपछि स्थानीयले विभागमा निवेदन दिएका थिए । विभागको प्राविधिक टोलीले अनुगमन गर्दा सम्पदा मासेर वा अतिक्रमण गरेर आधुनिक निर्माण र सामग्री जडान गरेको पाइएको प्रतिवेदन बुझाएपछि उक्त निर्देशन दिइएको हो । 

विभागले वडा नम्बर ५ को कार्यालयलाई पत्र पठाउँदै उक्त कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौ संशोधनसहित) विपरित रहेकोले आधुनिक निर्माण सामग्री प्रयोग गरी बनाइएका नयाँ संरचनालगायत व्यायामका लागि मन्दिर परिसरमा राखिएका सामग्रीहरु तत्काल हटाउन निर्देशन दिएको छ । पत्रमा लेखिएको छ, ‘ऐतिहासिक एवम् पुरातात्विक महत्त्व रहेको महालक्ष्मी मन्दिर परिसरमा आधुनिक शैलीका संरचनालगायत पार्क बनाउने, पुरातात्विक महत्त्वका सामग्रीहरुमा आधुनिक रङरोगन लगाउने, सांस्कृतिक एवं धानिर्म कार्यक्रम गर्नका लागि राखिएको खाली ठाउँमा पार्क बनाई सो ठाउँमा जानसमेत रोक लगाइएको र मन्दिर परिसरमा जिमका सामग्रीहरुसमेत राखेको देखिएकोले उक्त कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौ संशोधनसहित) विपरित रहेकोले तत्काल हटाउन ।’

टिप्पणीहरू