विद्या भण्डारीको जवाफको प्रतिक्षामा ओली

विद्या भण्डारीको जवाफको प्रतिक्षामा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी कार्यालयको अवलोकन गराउन च्यासलमा भेटवार्ता तय भएको बताउनुभएको छ । कतिपयले भण्डारी ‘बालुवाटार जान नमानेको’ भन्दै गलत प्रचार गरेको उहाँको दाबी छ । 

आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारी करिब १० वर्षपछि पार्टी कार्यालय पुगेको पनि जानकारी दिनुभयो । ‘मैले बालुवाटार आउनुस् भनेको थिएँ, उहाँले १०औँ वर्षसम्म पार्टी कार्यालय गएको छैन भन्ने कुरा गर्नु भएपछि च्यासलमै भेट्ने कुरा भएको थियो’, उहाँले भन्नुभयो, ‘उहाँसँग खुलस्त छलफल भयो, हामीबीच कुनै मतभेद छैन, बरु उहाँ आउँदा आफैँ चुनाव गराएर हारेका केही समूह पनि देखिए ।’

प्रधानमन्त्री ओलीले भण्डारीलाई ‘देशको अभिभावकको रूपमा बस्नुपर्ने मानिस सक्रिय राजनीतिमा आउँदा नराम्रो सन्देश जानसक्छ, बरु सम्मानित नै भएर बस्दा राम्रो हुन्छ’ भनेर सल्लाह दिएको पनि बैठकमा जानकारी गराउनुभयो । जवाफमा भण्डारीले ‘विचार गर्छु’ भन्ने प्रतिक्रिया दिएको उहाँको भनाइ छ । भन्नुभयो, ‘विचार गरेर के जवाफ दिनुहुन्छ, हामी कुरेर बसेका छौँ ।’

पार्टीभित्र अन्तरविरोध सिर्जना गर्न विपक्षीहरू लागिपरेकाे भन्दै ओलीले त्यसमा सचेत रहन नेताहरुलाई निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू