आफ्ना मन्त्रीहरूबारे काँग्रेस नेताको असन्तुष्टी

आफ्ना मन्त्रीहरूबारे काँग्रेस नेताको असन्तुष्टी

नेपाली कांग्रेसका नेताहरूले सरकारमा सहभागी मन्त्रीहरूले अपेक्षित काम गर्न नसकेको निष्कर्ष निकालेका छन् । सात पूर्व पदाधिकारीको बैठकले त्यस सम्बन्धमा सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

ठमेलको चाक्सिबारीस्थित उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा भएको छलफलमा नेताहरूले वर्तमान सरकारले सत्ता गठबन्धनको औचित्य प्रमाणित गर्न नसकेको बताएका थिए । नेकपा (एमाले) र कांग्रेसबीच भएको सात बुँदे सहमती कागजमा सीमित देखिएको बैठकमा सहभागी नेता कृष्णप्रसाद सिटौलाले बताए । छलफलको निष्कर्षबारे जानकारी दिँदै उनले सञ्चारकर्मीसँग भने, ‘पार्टीबाट सरकारमा गएका साथीहरूले जनताको मन जित्ने काम गर्न नसकेको अवस्था छ, एमालेसँग भएको सात बुँदे सहमति पनि कागजमा मात्र सिमित देखियो, यी सबै विषयमा भोलि सभापतिलाई भेटेर कुरा राख्ने निर्णय भएको छ ।’

त्यस्तै, सात प्रदेशमा अन्तरक्रिया गर्नेबारे पनि छलफल भएको छ । डा. शेखर कोइरालाको पछिल्लो भेटघाटबारे भने सिटौलाले केही बताएनन् । ‘शेखर कोइरालाले हालै प्रचण्ड र पूर्वराष्ट्रपतिसँग भेट गर्नुभयो, कसरी हेर्नुभएको छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा सिटौलाले भने, ‘उहाँको भेटबारे उहाँलाई बढी थाहा होला, मैले त्यस्तो केही मानेको छैन, यो सामान्य हो ।’ 

बैठकमा मन्त्री सिंह र सिटौलासहित विमलेन्द्र निधी, विजयकुमार गच्छदार, शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत सहभागी थिए ।

टिप्पणीहरू