भारतीय उपराष्ट्रपतिद्वारा राजीनामा, खराब स्वास्थ्य मुख्य कारण

भारतीय उपराष्ट्रपतिद्वारा राजीनामा, खराब स्वास्थ्य मुख्य कारण
सुन्नुहोस्

भारतका उपराष्ट्रपति जगदीप धनखडले राजीनामा दिएका छन । स्वास्थ्य सम्बन्धी कारण देखाउँदै पदबाट तत्काल लागु हुनेगरी राजीनामा दिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मुलाई सम्बोधन गरिएको राजीनामामा उनले भारतीय संविधानको धारा ६७(क) अनुसार राजीनामा दिएको उल्लेख गरेका छन् ।

धनखडले लेखेका छन्, ‘स्वास्थ्य सेवा र चिकित्सकीय सल्लाहलाई प्राथमिकता दिनुपर्ने भएकाले तत्काल लागु हुनेगरी उपराष्ट्रपति पदबाट राजीनामा दिएको छ

उनी यसअघि गत मार्च महिनामा मुटुरोगका कारण अस्पताल भर्ना भएका थिए । गत महिना उत्तराखण्डको कुमाउ विश्वविद्यालयमा आयोजित कार्यक्रममा बेहोस भएका उनले आजै राज्यसभा सदस्यहरूलाई सपथ गराएका थिए । 

साँझ राष्ट्रपतिसमक्ष राजीनामा बुझाउँदै राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्प्रति आभार व्यक्त गरेका छन् । सन् २०२२ मा विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई हराउँदै उपराष्ट्रपति बनेका धनखडको कार्यकाल दुई वर्ष बाँकी थियो । उनी यसअघि पश्चिम बंगालका राज्यपाल थिए ।

भारतको इतिहासमा उनी कार्यकाल पूरा गर्नुअघि राजीनामा दिने तेस्रो उपराष्ट्रपति बनेका छन् । यसअघि भी.भी. गिरि (सन् १९६९) र आर. वेंकटरमण (सन् १९८७) ले राष्ट्रपतिको निर्वाचनमा भाग लिन राजीनामा दिएका थिए ।

टिप्पणीहरू