श्रीमानहरुको टोली अन्तर्राष्ट्रिय सेमिनारमा सामेल
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित नेपाली न्यायाधीशहरूको टोली चीनमा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी भएको छ । फुजियान प्रान्तको फुचौमा आयोजित कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यापारिक वातावरण निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा नेपालसहित बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स) मा हस्ताक्षरकर्ता देशका प्रतिनिधिहरूले भाग लिएका छन् ।
फुजियान अन्तर्राष्ट्रिय आर्थिक सहयोग केन्द्रले आयोजना गरेको गोष्ठीमा नेपाल, नाइजेरिया,केन्या,इथियोपिया,इराक, प्यालेस्टाइनलगायत मुलुकका ३० जनाको सहभागिता छ । गोष्ठीमा चिनियाँ विश्वविद्यालयका प्राध्यापक, न्यायाधीश,वरिष्ठ अधिवक्ता तथा पत्रकारहरूले पनि भाग लिएका छन् ।
नेपालबाट विशेष अदालतका अध्यक्ष कुँवरसँगै न्यायाधीश रामबहादुर थापा, रितेन्द्रबहादुर थापा, विदुर कोइराला, रजिस्ट्रार जितेन्द्र थपलिया, वरिष्ठ अधिवक्ता भोजराज आचार्य र वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी पनि सहभागी छन् ।
चीनको अनुभव र लगानीको साझा अवसर
गोष्ठीमा चिनियाँ विश्वविद्यालयका प्राध्यापक तथा क्षेत्रगत विज्ञहरूले बीआरआईअन्तर्गत विधिसम्मत व्यापारिक वातावरण निर्माणबारे कार्यपत्र प्रस्तुत गरेका छन् । फुजियान विश्वविद्यालयका प्राध्यापक डा. हुवान माओसिङ्गले बिआरआईको मुख्य विशेषता नै कानूनी आधारमा सदस्य मुलुकबीचको व्यापारिक सहकार्य गर्नु रहेको बताए । चीनको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका मुजियान सिङले गोष्ठीले हस्ताक्षरकर्ता मुलुकहरूबीच उच्चस्तरीय सहकार्यलाई मजबुत बनाउने विश्वास लिएका छन् ।
चीनले डिजिटल अर्थतन्त्र,विद्युतीय गाडी,सौर्य ऊर्जा र लिथियम ब्याट्रीको उत्पादनमा सहभागी देशहरूसँग लगानी विस्तार गर्ने लक्ष्य राखेको फुजियान विश्वविद्यालयका अर्का प्राध्यापक डा. ताङ सियाले जानकारी दिए । उनका अनुसार यस्तो लगानीले हालसम्मका ढिलासुस्ती र कमजोरीलाई हटाउँदै तीव्र विकासमा टेवा पुर्याउनेछ ।
‘विन–विन’ समाधानको आशा
गोष्ठी उद्घाटन समारोहमा सहभागी देशका टोली प्रमुखहरूले सम्बोधन गरेका थिए । नेपालका न्यायाधीश कुँवरले उच्चस्तरीय बौद्धिक सहभागिताबाट चीनसहित सहभागी मुलुकहरूबीचको न्यायिक र कानूनी समन्वय मजबुत हुने आशा व्यक्त गरे । उनले बिआरआई सम्झौताका व्यवहारिक पक्ष कार्यान्वयनमा कानुनी स्पष्टता,आपसी अन्तरक्रिया र विवाद समाधानको साझा कार्यदिशाले सहयोग गर्ने बताए । गोष्ठीको क्रममा सहभागीहरूलाई चीनका विभिन्न प्रान्तहरूको भ्रमण गराएर त्यहाँको आर्थिक र पूर्वाधार विकासको स्थलगत अवलोकन गराउने कार्यक्रमसमेत रहेको बुझिएको छ ।
टिप्पणीहरू