सरकार राम्ररी नचलेको स्वीकार गर्दै विकल्प नभएको ठहर
नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौलाले कांग्रेस-एमाले गठबन्धन सरकारको विकल्प नरहेको बताएका छन् ।
वर्तमान सरकार एउटा जटिल परिस्थितिमा निर्माण भएको र दुई पार्टीबीच भएको सम्झौताअनुसार पूरा कार्यकाल चल्ने उनले दाबी गरे । अहिले कुनै एक दलको बहुमत नरहेकाले मिलेर सरकार चलाउनुपर्ने बाध्यता रहेको सिटौलाको भनाइ छ ।
यद्यपि सरकारले एक वर्षमा अपेक्षाअनुसार काम भने गर्न नसकेको उनले स्वीकार गरे । संविधान कार्यान्वयनको समीक्षा गर्दै संशोधन गर्ने कुरामा कार्यदल बनाएर अघि बढ्ने पनि सिटौलाले जानकारी दिए ।
‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्ष दिनको समीक्षा गर्दा राजनीतिक दलहरुले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर यो सरकार कन्टिन्यु जान्छ’, उनले भने, ‘किनभने यसको विकल्पमा अर्को सरकार बन्ने स्थिति देखिँदैन । अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिँदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’
टिप्पणीहरू