परिवार दलवाला एमाले सांसदसँगै सभामुख स्विट्जरल्याण्डतिर
सभामुख देवराज घिमिरे स्विट्जरल्याण्ड जानुभएको छ । अन्तर व्यवस्थापिका संघ (आईपियु) र संयुक्त राष्ट्र संघद्वारा संयुक्त रूपमा आयोजित सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी हुन ३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज साँझ जेनेभा प्रस्थान गर्नुभएको हो ।
प्रतिनिधिमण्डलमा परिवार दलवाला एमाले सांसद एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी छन् । साँझ पौने ७ बजे कतार एअरवेजको उडान क्युआर ६४७ मार्फत काठमाडौँबाट उडेको टोली दोहा हुँदै जेनेभा ओर्लिने छ ।
संसद सचिवालयका अनुसार साउन १४ देखि १७ गतेसम्म आयोजना हुने सम्मेलनमा सभामुख घिमिरेले तीन फरक विषयमा मन्तव्य राख्ने कार्यसूची छ । त्यस्तै,सम्मेलनको दौरान बेलायत, स्विट्जरल्याण्ड,माल्टा,इजरायल,भुटान लगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ ।
जुलाई २९ मा स्विट्जरल्याण्डको संसदले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ । नेपाली प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी कतार एअरवेजको क्युआर-६४८ कै उडानमार्फत् साउन १८ गते आइतवार बिहान पौने ९ बजे काठमाडौं आइपुग्ने जानकारी गराइएको छ ।
टिप्पणीहरू