मध्यरातमा सुन्दरीजलमा नुहाउन पुगेकाको उद्धार, गोसाईंकुण्डमा दुई बेपत्ता
काठमाडौँको सुन्दरीजलमा मध्यरातमा नुहाउने क्रममा चार भारतीय र एक नेपालीको उद्धार गरिएको छ । सुन्दरीमाई मन्दिर नजिकै नुहाउने क्रममा खोलामा फसेका चार भारतीय र एक नेपालीलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।
राति २ बजेको समयमा उनीहरु बोलबम भन्दै त्यहाँ पुगेका थिए । नुहाउने क्रममा एक्कासी पानीको बहाव बढेपछि उनीहरु फसेको बताइन्छ । सेनाको चन्दननाथ गणबाट खटिएको उद्धार टोली, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा उद्धार गरिएको हो ।
उता रसुवाको गोसाइँकुण्डमा नुहाउने क्रममा हिजो दुई जना तीर्थालु बेपत्ता भएका छन् । विराटनगरका २८ वर्षीय सुजन ढकाल र मोरङ बेलबारीकै मनोज न्यौपाने बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुको खोजी जारी राखेको छ ।
टिप्पणीहरू