मुख्य रजिष्ट्रार हिँडेकै भोलिपल्ट भटाभट नियुक्ति

मुख्य रजिष्ट्रार हिँडेकै भोलिपल्ट भटाभट नियुक्ति

प्रधानन्यायाधीश प्रकासमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्तिका लागि सिफारिस गरेको छ । बैठकले सर्वोच्चका रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवाका लागि सिफारिस गरेको छ ।

यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार अनिवार्य अवकासमा गएपछि उक्त पद रिक्त थियो । पदमा पौडेललाई सिफारिस गरिएको हो । सर्वोच्चमा रिक्त रजिस्ट्रार पदमा सर्वोच्च अदालतकै सहरजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गर्ने निर्णय भएको छ । 

आयोगले कानुनका दुई सहसचिवलाई पनि सचिवमा बढुवाका लागि सिफारस गरेको छ । निर्मला अधिकारी भट्टराईलाई सचिवमा बढुवा र सत्य निरुपण आयोगको सचिवमा पदस्थापनका लागि सिफारिस गरिएको छ । भट्टराई कायममुकायम सचिव थिइन् । 

यस्तै, सहसचिव इन्दिरा दाहाल भट्टराई पनि सचिव बढुवामा सिफारिस भएकी छन् । उनलाई कानुन आयोगमा पदस्थापन गर्न सिफारिस गरिएको छ ।

सरकारी वकील समूहतर्फ कामु नायव महान्यायाधिवक्ता रहेका सूर्यराज दाहाललाई नायव महान्यायाधिवक्तामा बढुवाका लागि सिफारिस गरिएको छ । उनी बढुवापछि बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिवमा पदस्थापन हुनेछन् । 

हाल बेपत्ता आयोगका सचिव रहेका खेमराज ज्ञवालीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ । ज्ञवाली नायब महान्यायाधिवक्ताको हैसियतमा महान्यायाधिवक्ताको कार्यालयमा आउने छन्।बढुवा सिफारिस भएका सबैलाई मन्त्रिपरिषद्ले नियुक्तको निर्णय गरेपछि पदस्थापन हुनेछ ।
 

टिप्पणीहरू