मेयर लम्पसार परेपछि धेरैको बिजोग
सत्याग्रह सुरु गरेका एक जना मेयर माइतीघर मण्डलाको व्यस्त सडकमा सुतेका छन् । मेयर सुतेपछि राजधानीको केन्द्र भागमा एकाएक यातायात प्रभावित भएको छ । उनी स्थानीय कच्चा पदार्थ र स्रोत साधनको प्रयोग गर्न पाउनेगरी संघीय ऐन निर्माणको माग गर्दै सत्याग्रहमा उत्रिएको बताइन्छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई माइतीघरको सडकमा आज लम्पसार परेका हुन् । बाँसको भाटा लिएर कपाल मुण्डन गरेका भट्टराईले हिजो सिंहदरबारको दक्षिण गेट अगाडिको सडकमा सत्याग्रह थालेपछि प्रहरीले माइतीघर लगेर छाडेको थियो । तर आज सत्याग्रह बसेको क्षेत्रमा सवारीसाधन खुला गरिएपछि हेपिएको महशुस गर्दै उनी यातायात प्रभावित हुनेगरी सडकमै सुतेका हुन् । त्यसपछि उक्त मार्गमा सवारी आवगमन रोकिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार मेयर भट्टराईले आफूले सत्याग्रह बसिरहेको ठाउँ शान्त बनाइदिन माग गरेपछि सवारी साधनलाई अर्को मार्ग प्रयोग गर्न भनिएको हो ।
स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले पटकपटक लिखित तथा मौखिक अनुरोध गरे पनि संघीय सरकारले बेवास्ता गरेपछि सत्याग्रहको बाटो अपनाएको मेयर भट्टराईको भनाई छ ।
टिप्पणीहरू