मुख्यमन्त्रीबाट नहट्ने बहादुर सिंहको भनाइपछि काँग्रेसले थाल्यो नयाँ प्रक्रिया
बागमती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरिएको छ । प्रदेश कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री हरिशरण श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको जनाइएको छ । अर्का सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल समिति सदस्य छन् ।
प्रदेश मुख्यमन्त्री रहेका बहादुरसिंह लामाविरुद्ध प्रदेश सभापति इन्द्र बानियाँसहितका बहुमत सांसदहरुले गत शुक्रबार संसदीय दलको कार्यालयमा हस्ताक्षरसहित अविश्वासको प्रस्ताव गरेकोमा बिहान मत विभाजन भएको थियो । ३७ प्रदेश सभा सदस्य रहेको संसदीय दलमा बानियाँले २२ जनाको समर्थन पाउँदा मुख्यमन्त्री लामा १५ जनामा सीमित भए ।
अविश्वासको प्रस्ताव बहुमतले पारित भए पनि मुख्यमन्त्री लामाले पदबाट राजीनामा नदिने अडान लिएपछि बानियाँ पक्षले नैतिकताको प्रश्न उठाएको छ । यहीबीच अब संसदीय दलको निर्वाचनबाटै दलको नेता चयन गर्न लागिएको हो । अब सहमहामन्त्री श्रेष्ठ नेतृत्वको समितिले निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।
टिप्पणीहरू