रविको मुद्दा स्थगित,कैदी नम्बर ७३
उच्च अदालत पोखराको इजलास नम्बर २ मा पेशी चढेको रवि लामिछानेको मुद्दा स्थगित भएको छ । न्यायाधीशद्वय सुदर्शनराज पाण्डे र दीपेन्द्र अधिकारीको इजलासमा चढेको मुद्दा लगाउको कारणबाट स्थगित भएको जनाइएको छ।
सहकारी संस्थाको रकम अपचलन मुद्दा पुर्पक्षको क्रममा हाल भैरहवा कारागारमा रहेका रविको मुद्दा स्थगितको कैफियतमा फौजदारी कानुनसंहिता २०७४ को ७३ नम्बर थुनुवा उल्लेख छ ।
यसअघि जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईले धरौटीमा छाडेपछि उक्त आदेशविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदनमा गएको हो । त्यसैगरी रवि लामिछाने पनि धरौटी रकम धेरै मागिएको भनी असन्तुष्टि जनाउँदै पुनरावेदनमा गएको मुद्दा आज रोकिएको बुझिएको छ ।
रुपन्देही जिल्ला अदालतले मागेको एक करोड धरौटी बढी भयो भन्दै अपिलमा गएका रविलाई बुटवल उच्चले डिआइजी छविलाल जोशीसरह थुनिने गरी भैरहवा कारागार पठाएको थियो ।

टिप्पणीहरू