हृदयेन्द्रको 'भ्लग' कि योजनाबद्ध डकुमेन्ट्री ?
राजावादी नेताहरूबीचको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको एक भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। जेठ तेस्रो साता आमा हिमानी शाहसँग सुदूरपश्चिमको जुम्ला पुगेका हृदयेन्द्रको त्यो समयमा खिचिएको भनिएको करिब १५ मिनेट लामो भिडियो हालै सार्वजनिक गरिएको हो।
भिडियोमा देखिएको हृदयेन्द्रको शालीनता, भद्रता र शिष्ट हाउभाउको सर्वत्र प्रशंसा भइरहेको छ। तर, लामो समयसम्म सार्वजनिक जीवनबाट टाढै रहेका र अन्तर्मुखी स्वभावका भनेर चिनिँदै आएका हृदयेन्द्र अचानक यसरी भिडियोमा प्रस्तुत हुन तयार कसरी भए? उनी आफैंले भिडियो अवधारणा ल्याएका हुन् वा अरूको स्क्रिप्टअनुसार फिचर गरिएको पात्र हुन् भन्ने चासो बढेको छ।
भिडियोमा देखिएको व्यक्तिगत हाउभाउ र अभिव्यक्तिबाट हेर्दा हृदयेन्द्रलाई 'इन्ट्रोभर्ट' अर्थात् अन्तर्मुखी व्यक्तित्वको मानिन्छ। यस्ता व्यक्तिहरू सामान्यतः सार्वजनिक ध्यान, मिडिया र क्यामेरा-लाइटबाट जोगिने प्रयास गर्छन्। त्यसैले, उनको उपस्थिति झनै अनौठो लाग्छ।
उनको स्वर, बोल्ने शैली र अभिव्यक्तिबारे जनमानसमा लामो समयदेखि रहेको कौतूहल उक्त भिडियोले केही हदसम्म मेटाएको छ। तर भिडियोमा हृदयेन्द्रले घुमाउरो रूपमा आफू मिडिया वा लोकप्रियतामा रुचि नराख्ने संकेत दिएका छन्। उदाहरणका लागि, एउटा दृश्यमा उनले भनेका छन् - “म पनि ‘वान पिस’ हेर्छु, ठूलो फ्यान हुँ।”
‘वान पिस’ जापानी एनिमेसन सिरिज हो, जुन अन्तर्मुखी युवा दर्शकमाझ लोकप्रिय छ।
भिडियोलाई ‘भ्लग’ भनिए पनि यसको सम्पादन शैली, छायांकन र संरचना हेर्दा यो एक योजनाबद्ध डकुमेन्ट्रीजस्तो देखिन्छ। दृश्यहरू विभिन्न कोणबाट छायांकन गरिएको छ, ड्रोन फुटेज प्रयोग गरिएको छ, र साउन्ड डिजाइन तथा पोस्ट-प्रोडक्सनमा पनि अत्यधिक ध्यान दिइएको छ। यी पक्षहरूले यो कुनै सामान्य व्यक्तिगत प्रयास नभएर व्यवस्थित टोलीद्वारा तयार गरिएको सामग्री भएको आभास दिन्छ।
यसरी हेर्दा, स्वस्फूर्त भएर हृदयेन्द्र मिडिया अगाडि देखिएका हुन् कि पूर्वनिर्मित रणनीतिअनुसार प्रस्तुत गरिएका हुन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। मिडिया, भीड र प्रचारप्रसारबाट टाढा रहन रुचाउने भनिएका हृदयेन्द्र यस्तो सार्वजनिक विमर्शको केन्द्रमा ल्याउने प्रयासको पछाडि राजनीतिक वा सामाजिक उद्देश्य हुन सक्छ।
तर यो प्रश्न अझै बाँकी छ - हृदयेन्द्र आफैंले यो उपस्थितिलाई स्वीकृति दिएर अघि आएका हुन्? वा कुनै योजनाबद्ध छायाँ रणनीतिले उनलाई अगाडि ल्याएको हो?
टिप्पणीहरू