शिवधाम छायाँनाथमा साउने भक्तिभाव

शिवधाम छायाँनाथमा साउने भक्तिभाव

कर्णालीको धार्मिक र ऐतिहासिक सम्पदामध्ये प्रमुख मानिने छायाँनाथ धाममा वार्षिक तीर्थयात्रा औपचारिक रूपमा सुरु भएको छ।

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–१ मा अवस्थित उक्त धाममा विशेष पूजाआजासहित यात्रा प्रारम्भ भएको हो।
४५०० मिटर उचाइमा रहेको धाममा शुक्रबार बिहान प्राचीन शिव मूर्तिको पूजासहित विधिवत रूपमा यात्रा आरम्भ गरिएको बताइएको छ।

नेपाल प्रहरीले मन्दिर परिसरमा सम्मानपूर्वक सलामी अर्पण गरेको थियो भने कार्यक्रममा स्थानीय पुरोहित, पुजारी, जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षाकर्मी र श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यस धाममा विशेषगरी साउनको पञ्चमीदेखि जनैपूर्णिमासम्म हजारौं श्रद्धालु दर्शनका लागि आउने गर्छन्।

तीमध्ये सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूका साथै भारतको उत्तराखण्ड, हिमाञ्चल र कुमाउँ क्षेत्रबाट समेत दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ।

स्थानीय ऐनबहादुर हमालका अनुसार छायाँनाथ धामलाई कैलाश मानसरोवरपछि प्रमुख तीर्थस्थलका रूपमा चिनिन्छ। उनका अनुसार १८३६ मा चैन गाउँका तत्कालीन पुजारी सुन्दर चौलागाईं (उपाध्याय) ले यहाँ भगवान् शिवसहित विष्णु, गणेश र बुद्धको मूर्ति स्थापना गरेका थिए।

हिमाली क्षेत्र भएकाले वर्षभरि मन्दिरमा पूजा गर्न कठिन हुने भएकाले गमदराको चैन गाउँमा मूर्ति राखेर ११ महिना पूजाआजा गरिन्छ भने साउन महिनामा मूर्तिसहित छायाँनाथ धाममा ल्याएर विशेष पूजा गरिन्छ।

श्रद्धालुहरू यहाँ व्रतबन्ध, पितृमोक्ष, वर माग्ने, छापविदो लिने र आफ्ना इष्टदेवता तथा कुलदेवताका लागि धामीझाँक्रीसहित विशेष पूजा गर्न पुग्ने परम्परा रहिआएको छ। यस वर्ष पनि हजारौं श्रद्धालुको आगमन हुने अपेक्षा गरिएको छ।

टिप्पणीहरू