घुस दिने नयाँ काइदा
भ्रष्टाचार अब पुरानो शैलीमा सीमित छैन । लुकिछिपि भेटघाट न हाताहाती कारोबार । साक्षीको जामा लगाएर घुस खुवाइएको नयाँ घटनाले सबैलाई आश्चर्यमा पारेको छ ।
बाँकेको कोहलपुरका डम्बरबहादुर बुढाथोकी यसको पछिल्लो उदाहरण बनेका छन् । उनी सरकारी मुद्दामा साक्षीका रूपमा अदालत पुगे । तर बिचौलिया शान्ति पुनमार्फत् सरकारी कर्मचारीलाई २० हजार रुपैयाँ घुस दिए । उनले आफ्नो जग्गाको लफडा मिलाउन घुस दिएको तथ्य खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले घुस दिनेले अब आफूलाई सिधा रुपमा प्रस्तुत नगरी सरकारको पक्षमा बोल्ने, अदालतमा साक्षी बस्ने अनि आफ्नो अपराध छोप्ने चातुर्यता अपनाएको पुष्टि भएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी साक्षी भएर विशेष अदालतमा बयान दिने व्यक्तिविरूद्ध नै मुद्दा दर्ता गरेपछि उक्त घटना बाहिरिएको हो । साक्षी बुढाथोकीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
विशेष अदालतमा विचाराधीन सरकार प्रतिवादी रहेको रतनबहादुर जिसीसमेतको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेर बुढाथोकीले बयान दिएका थिए । तर उनले नै घुस दिएको देखिएपछि मुद्दा चलाइएको हो ।
टिप्पणीहरू