‘पुरुष वेश्या’ लाई जोगाउने कानुनविरुद्ध महिलाहरू आक्रोशित
सरकारले विशेष परिस्थितिको नाममा बहुविवाहलाई मान्यता दिनेगरी कानुन संशोधन गर्न लागेपछि अधिकारकर्मीहरू आक्रोशित भएका छन् । अहिले पूर्णत: प्रतिवन्धमा रहेको बहुविवाहलाई कानुनी रुपमै लचिलो बनाउने गरी संशोधनको मस्यौदा तयार गरिएपछि महिला अधिकारकर्मीहरूले आपत्ति जनाएका हुन् । र, आक्रोशको निशानामा छन्, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना ।
यस्तो उल्टो कानुन बनाउने प्रयासको नागरिकस्तरबाट चर्को निन्दा भैरहँदा मस्यौदा तयार पार्ने ढुंगाना सामाजिक सञ्जालमा तारो बनेका छन् । महिला अधिकारकर्मीहरुले धमाधम सचिव ढुंगानाको तस्वीर शेयर गर्दै बहिष्कारको अभियान चलाएका हुन् ।
सरकारले ल्याउन लागेको भनिएको कानुनले ‘पुरुषलाई समस्या नहुने र महिलाको जीवन बर्बाद नहुने’ दाबी गरिएको छ । सचिव ढुंगानाले जनआस्थालाई दिएको जानकारीअनुसार पुरुषले पहिलो पत्नीबाहेक अर्की महिलासँग सम्बन्ध राखेको र बच्चा जन्मिएको विशेष अवस्थामा उक्त सम्बन्धलाई विवाहमा परिणत गर्नुपर्ने हुन्छ । अन्यथा दोस्रो महिलाको जीवन बर्बाद हुने उनको तर्क छ ।
‘कुनै कुनै अवस्थामा पुरुष र महिलाले समझदारीपूर्ण सम्बन्ध स्थापित गर्न खोज्दा कानुन बाधक बनेको छ’, उनले भने, ‘त्यसैले विशेष परिस्थितिमा कानुनी बाधा हटाएर दोस्रो महिलाको जीवन सुरक्षित राख्ने यसको उद्धेश्य हो ।’
तर, महिला अधिकारकर्मीसहित सरोकारवालाहरूको ठूलोपंति भने ढुंगानाको तर्कसँग सहमत छैनन् । यदी यसप्रकारको कानुन लागू भयो भने बहुविवाहमाथिकाे प्रतिबन्ध अघोषित रुपमा फुकुवा हुने उनीहरुको बुझाइ छ ।
अधिवक्ता, लेखक तथा महिला अधिकारकर्मी सरिता तिवारीका अनुसार उक्त कानुन ल्याइयो भने महिलाको सार्वभौमिकता र सम्मानका लागि अहिलेसम्म भएका सबै प्रगतिशिल र क्रान्तिकारी आन्दोलनमाथि घात हुनेछ । उनले चेतावनी दिँदै भनिन्, ‘विधायिकाले राजनीतिक र सांस्कृतिक आन्दोलनको मर्म बुझेन भने नागरिक र महिलावृत्त फेरि आन्दोलनमा उत्रनुको विकल्प छैन ।’
महिलाको अपमान गर्ने कानुनहरु आखिर कसको हितमा ल्याइन्छ ? भनेर सरकारलाई उनले प्रश्नसमेत गरेकी छन् । ‘कहिले विवाहको उमेर घटाउने कानून ल्याउने कुरा आउँछ, कहिले लोग्नेसँग अंश लिएर सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरिन् भने पहिलेको लोग्नेबाट लिएको सम्पत्ति फिर्ता गर्नुपर्ने कुरा आउँछ, कहिले बलात्कारको कानून फेर्ने कुरा आउँछ, आखिर यी कुरा कहाँबाट आउँछन् ? कसको हितमा आउँछन् ?’, तिवारीको प्रश्न छ ।
‘यी बाजेलाई सडकमा आएका महिलाको माया लागेछ कि अर्की राख्दै बसेका नेता कर्मचारीको चिन्ता लागेछ ?’ भन्दै उनले कानुन सचिव ढुंगानालाई कटाक्ष गरेकी छिन् । ढुंगानाको तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘बहुबिबाह गर्न नपाउने विद्यमान कानुनका कारण उहाँका को-को महिला पीडित भए र को-को पुरुषले बुडीमाथि बुडी खाप्न पाएनन् त्यो त दैवले नै जानुन, तर दोस्रो विवाहलाई कानुनी मान्यता दिने व्यवस्था गर्न अगुवाई गर्ने उहाँहरु जस्तालाई सार्वजनिक गरौं ।’
अर्की महिला अधिकारकर्मी सिमा आभासले पनि सरकारले घुमाउरो शैलीमा बहुविवाहलाई वैधानिकता दिन लागेको भन्दै आपत्ति जनाएकी छन् । सरकारले ‘पुरुष वेश्या’ हरूको संरक्षणका लागि यस्तो कानुन ल्याउन लागेको उनको ठहर छ ।
‘स्वास्नी संस्कारी चाहिने ! लोग्नेको धर्म, संस्कार, कूलको धर्म स्वास्नीले धानिदिनुपर्ने ! अनि लोग्ने लुकिछिपि अवैधानिक सम्बन्ध बनाउँदै जाने ! स्वास्नीलाई छलेर बाहिर मोजमस्ती गर्ने ! घरमा स्वास्नी राखेर बाहिर अरूलाई गर्भवती बनाउँदै हिँड्ने मर्द भनेको पुरूष वेश्या नै हो’, उनले भनेकी छन्, ‘पुरूष वेश्यालाई डामेर सार्वजनिक रूपमा बेइज्जत गर्नुपर्नेमा बहुविवाहको कानुन ल्याएर वैधानिकता दिन खोज्नेहरूले पहुँचवाला कुन-कुन पुरूष वेश्यालाई जोगाउन खोजेका हुन् ? यो प्रस्ताव लैजाने र मस्यौदा तयार गर्नेको सख्त बिरोध गरौँ ! अपराधीलाई पहुँचमा पुग्न नदिऔँ !’
समाजमा छोरी चेलीहरूको अपमान गर्ने यस्तो कानुनको ड्राफ्ट गर्नेहरूलाई बहिष्कार गर्नुपर्ने मत पनि अधिकारकर्मीहरूको छ । लेखकसमेत रहेकी अधिकारकर्मी विना थिङ तामाङले ‘बुहविवाह सम्बन्धी कानुन संशोधन मस्यौदा मण्डलका सदस्यको मुखमा थुक्न मन लागेको’ भन्दै चर्को आक्रोश जनाएकी छन् ।
‘बहुविवाह सम्बन्धी कानुन संशोधनले मखलेल हुनुहुने तपाई महान पुरुष वा महिला (जो अहिले मौनता साँधिरहनुभएको छ) यो कानुन अहिले तपाईको लागि घातक नदेखिए पनि तपाईको छोरी र नातिनी पुस्ताको लागि भंयकर पश्चगामी निर्णय साबित हुनेछ’, उनले भनेकी छन्, ‘यो ख्याल ठट्टा गरिनुपर्ने विषय होइन, अलिक संवेदनशील हुनुहोस्, बहुविवाह सम्बन्धी कानुन संसोधन मस्यौदा मण्डलका सदस्यहरुको नामवली सार्वजनिक गर सरकार, तिनीहरुको मुखमा एकपटक मज्जैले थुक्न मन लाग्यो ।’
टिप्पणीहरू