सोङ राजवंश मानव जीवनको ‘सर्वोत्तम युग’
सांघाई सहयोग संगठन (एससीओ) को मिडिया तथा थिंक ट्यांक सम्मेलनका एक सयभन्दा बढी विदेशी पाहुनाले हालै चीनको ऐतिहासिक शहर काइफेङको अवलोकन गरेका छन् । शहरको समृद्धि, भव्यता र सांस्कृतिक धरोहर अवलोकन गर्न नेपाल, रूस, पाकिस्तान, काजाकस्तान, इजिप्टसहित २० भन्दाबढी देश र क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।
प्रान्तीय राजधानीमा चङ्चौमा ‘साङ्घाई भावना आत्मसात गर्दै समृद्ध साझा घर निर्माण’ नारासहित आयोजना गरिएको सम्मेलनमा काइफेङको सांस्कृतिक सम्पदा र सामाजिक–आर्थिक विकासको अनुभव बाँड्ने लक्ष्य राखिएको थियो । त्यसैले उनीहरुलाई नजिकैको ऐतिहासिक राजधानी काइफेङको सांस्कृतिक यात्रामा लगिएको आयोजकहरुले जनाएका छन् ।
काइफेङ चार हजार एक सय वर्षभन्दा पुरानो सहर हो । यसले इतिहासमा आठवटा राजवंशको राजधानीको हैसियत बनाएको छ । विशेषगरी उत्तरी सोंङ राजवंशको समयमा यो शहर चीनको प्रमुख राजनीतिक र सांस्कृतिक केन्द्र थियो ।
सहभागीहरूलाई काइफेङको प्रसिद्ध ‘मिलेनियम सिटी पार्क’ (चिङमिङ नदी किनार परिदृश्य बगैँचा) भ्रमण गराएको थियो । यहाँ सोङवंशका चित्रकला र जीवनशैलीलाई पुनःनिर्माण गरेर प्रस्तुत गरिएको छ । दैनिक आठ सयभन्दा बढी कलाकारहरूले सोङ वंशको पहिरनमा दैनिक एक सयभन्दा बढी परम्परागत कार्यक्रम प्रस्तुत गर्छन् ।
बेलायती इतिहासकार अर्नोल्ड टोयनबीले पनि सोङ वंशको कार्यकाललाई मानव जीवनको “सर्वोत्तम युग” भनेका थिए ।
केही पाहुनाले नजिकैको लान्काओ काउन्टीको भ्रमण गरेका थिए । यहाँबाट छ दशकअघिको जियाओ युलुको नेतृत्वमा थालिएकोे हरियाली अभियानले आज पर्यावरण मात्र होइन, स्थानीय अर्थतन्त्रमा समेत ठूलो योगदान दिएको देखिन्छ। पाउलोनीया काठबाट बनेका परम्परागत वाद्ययन्त्रहरू चीनमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय छन्।
इतिहासको सुगन्ध र आत्मबलको धुन बिझाउँदै आएको पहेँलो नदीको बाढीका बाबजुद बारम्बार पुनर्निर्माणमा सफल काइफेङले आज इतिहास, परम्परा, संस्कृति र नवप्रवर्तनको सजीव संयोजन प्रस्तुत गरेको देखिन्छ । यिनै विशेषताले सम्मेलनका पाहुनाहरूले आफूले चिनियाँ सांस्कृतिक आत्माको जीवन्त रूप अनुभव गर्न पाएको प्रतिक्रिया दिएका थिए ।
टिप्पणीहरू