घुस प्रकरणका 'बिचौलिया' एमालेद्वारा निलम्बित

घुस प्रकरणका 'बिचौलिया' एमालेद्वारा निलम्बित

पोखराको लिचीबारी जग्गा प्रकरणका मुख्य अभियुक्तका रूपमा चर्चामा आएका नेकपा (एमाले)का सल्लाहकार परिषद सदस्य सुजन लामा पार्टीबाट अनिश्चितकालीन निलम्बनमा परेका छन्।

पार्टीको गण्डकी प्रदेश कमिटीले हिजो र आज बसेको बैठकबाट लामालाई निलम्बन गर्ने निर्णय गरेको हो। अदालतबाट दोषमुक्त नभएसम्म उनका सबै जिम्मेवारी निलम्बित रहने प्रदेश कमिटी स्रोतले जनाएको छ।

बाटुलेचौरस्थित १३५ रोपनी सरकारी जग्गा हत्याउने प्रयोजनका लागि लामाले निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग घुसको साटासाट गर्ने अडियो सार्वजनिक भइसकेको छ। सो अडियो सार्वजनिक भएसँगै गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए भने अधिकारी र श्रेष्ठ पनि तीव्र राजनीतिक दबाबमा परेका छन्।

‘अडियो एआईबाट बनाइएको’

अडियो प्रकरण बाहिरिएपछि गण्डकी प्रदेश कमिटीले लामासँग स्पष्टीकरण मागेको थियो। लामाले सार्वजनिक अडियोमा सुनिने आवाज आफ्नो नभई एआई प्रविधिबाट तयार पारिएको दाबी गरेका थिए। तर उनको दाबी ‘चित्तबुझ्दो’ नठहरिएपछि बैठकले उनलाई पार्टी जिम्मेवारीबाट हटाउने निर्णय लिएको हो।

एमालेले पछिल्लो समय भ्रष्टाचार, आचरण र अनुशासन सम्बन्धी विषयमा 'शून्य सहनशीलता' नीति लिएको भन्दै लामाविरुद्धको निर्णय पनि सोहीअनुसार गरिएको बताइएको छ।

टिप्पणीहरू