श्रीमानहरुको सरुवामा सिद्धान्तको खोजी
उच्च अदालतमा न्यायाधीश बढुवा र त्यसपछि सरुवाको लागि हिजो बसेको न्यायपरिषद् बैठक अब निरन्तर हुने भएको छ ।
कतिपयले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र झापाका गगन पुरीविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा हेर्दाहेर्दैमा परेकाले त्यताका ५ जना श्रीमानको सरुवा केही दिन लम्बिने अनुमान लगाएका छन् ।
तर,परिषद् स्रोतले श्रीमानहरुको सरुवामा सिद्धान्तको खोजी गर्ने हिजो सहमति भएको बतायो । ‘पहिले सरुवाको सिद्धान्त तय गर्ने सल्लाह छ । हिजो अलिअलि छलफल भयो । सिद्धान्त बनाउने क्रममा कतिसम्म बसेकालाई सरुवा गर्ने र कहाँ लैजाने ? भन्दै सूचीमा परेकाको प्रोफाइल हेर्ने सहमति भएको छ,’ बैठकमा भएको छलफल उद्धृत गर्दै स्रोतले भन्यो ।
लगातार बैठक गरेर भए पनि जतिसक्दो छिटो टुंग्याउने सहमति जुटेको बताइन्छ ।
ठूलै लट सरुवाको तयारी गरिए पनि हिजो बसेको न्यायपरिषद् बैठक यस विषयमा अनिर्णित बन्न पुगेको थियोे । अब पहिले उच्चमा बढुवा,त्यसपछि सरुवा र बल्ल जिल्लाको पालो आउने बुझिएको छ ।
यता परिषद अध्यक्ष तथा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आजबाट परिषद् सदस्य तथा कानुनमन्त्री र वरिष्ठ न्यायाधीशसँग सरुवाबारे छलफल गर्ने बुझिएको छ । हिजोको बैठकमा विशेष अदालतका न्यायाधीशहरुको सरुवाबारे तोकेर कुरा नभएको स्रोतले बतायो । स्रोत भन्छ, ‘अधिकांशको सरुवा हुन्छ तर पात्र र अदालतको बारेमा कुनै कुरा भएको छैन ।’
पहिलो चरणमा उच्च अदालतका न्यायाधीशहरुको नियुक्ति र सरुवा भएपछि जिल्लाको बारेमा निर्णय हुने योजना छ । उच्चमा नियुक्तिपछि जिल्लामा कति खाली हुन्छ अनि त्यसपछि प्रतिशत निर्धारण गरेर नियुक्ति प्रक्रिया अघि बढाउने भनिएको छ । जिल्लामा एकथरी न्यायाधीश जाँचपास गरेर आउने भएकाले पहिले परीक्षा हुन्छ । बाँकीको सोझै नियुक्ति हुन्छ ।
टिप्पणीहरू