वडाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी
ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी भएपछि काठमाडौंको तारकेश्वरनगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कविराज बस्नेत काठमाडौं प्रहरी परिसर पुगेका छन् । उनी निवेदन बोक्दै भद्रकालीस्थित त्यहाँ पुगेको बताइन्छ ।
काठमाडौं प्रहरीका सहप्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार वडाध्यक्ष बस्नेतसँग बयान लिने क्रम शुरु भएको छ । त्यसपछि आवश्यक कानूनी प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । ‘उहाँ निवेदनसहित आफैं उपस्थित हुनुभएको हो । अहिले बयान चलिरहेको छ । बयान सकिएपछि कानूनी प्रक्रिया अघि बढ्छ,’ डिएसपी अधिकारीले भने ।

तारकेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाबीच सीमा विवाद वर्षौदेखि रहँदै आएको छ । सोही क्रममा काठमाडौं– १६ को साँध बालाजुस्थित महादेव खोलामा पर्खाल निर्माणको क्रममा गत असार २३ गते दुईतिरका स्थानीयबीच झडप भएको थियो । त्यसक्रममा केही घाइते भएका थिए । उक्त झडपको विषयलाई लिएर वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
टिप्पणीहरू