जिब्रो छेडेपछि भक्तपुरदेखि पशुपतिसम्म हिँड्न वीरेन्द्रभक्त तयार

जिब्रो छेडेपछि भक्तपुरदेखि पशुपतिसम्म हिँड्न वीरेन्द्रभक्त तयार

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठ यो वर्ष पनि जिब्रो छेड्न तयार देखिन्छन् । लोप हुनसक्ने आशंकामा ‘जिब्रो छेड्ने जात्रा’लाई निरन्तरता दिन उनले पुनः यो साहसिक निर्णय लिएका हुन् ।

श्रेष्ठले आगामी भदौ २२ गते, इन्द्रजात्राको भोलिपल्ट आफ्नो जिब्रो छेड्ने र महाद्विप बोकेर पशुपतिनाथसम्म यात्रा गर्ने कार्यक्रम बनाएका छन् ।

वि.सं.२०६३ मा रोकिएको यो परम्परा ११ वर्षपछि २०७४ मा वीरेन्द्रभक्तकै पहलमा पुनः सुरु भएको हो । त्यसयता, उनले २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेर परम्परालाई जीवन्त बनाएका थिए ।

किम्बदन्ती अनुसार, थिमि नगरमा भूतप्रेत र पिशाचहरूको आतंक रोक्न यो परम्परा थालिएको हो। यसले नगरमा शान्ति, सुरक्षा र समृद्धि ल्याउने विश्वास गरिएको छ ।

जात्राका क्रममा करिब एक फिट लामो फलामको सियो तेलमा डुबाएर जिब्रो छेडिन्छ । त्यसपछि, उनले मुखमा महाद्विप बोकेर थिमिबाट पशुपतिनाथ मन्दिरसम्म यात्रा गर्नेछन् ।

जात्रा सम्पन्न भएपछि नगरमा रोग, अनिकाल र प्राकृतिक विपत्ति नलाग्ने धार्मिक विश्वास छ । यसो गरेपछि भगवानबाट आशीर्वाद प्राप्त हुने जनविश्वास भक्तपुरमा व्याप्त छ ।
 

टिप्पणीहरू