बेपत्ता दाजुबहिनीकाे पाँच दिनपछि शव फेला
पाँच दिनदेखि बेपत्ता पाँचथरको याङवरक गाउँपालिका–१, विरुवाका दुई दाजुबहिनी मृत अवस्थामा फेला परेका छन् । बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ४ वर्षीया छोरी नानुमा राईको शव आज बिहान विरुवा खोलाको किनारमा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले दिएको जानकारी अनुसार साउन १५ गते ‘खीर खाने दिन’ स्कूल जान घरबाट निस्केका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए । खोजतलासका क्रममा आज दुवै जनाको शव खोला किनारमा झण्डै दुई सय मिटरको दूरीमा फेला परेको हो ।
‘दाजुको शव माथिल्लो भागमा र बहिनीको तलतिर फेला परेको छ,’ इन्स्पेक्टर तामाङले भने । प्रारम्भिक अनुमान अनुसार, खोलाले बगाउँदा उनीहरूको ज्यान गएको हुनसक्छ ।
तर, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका बुबा बिर्खबहादुर गाउँमै खेतीपाती गर्छन् भने आमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएकी छन् ।
टिप्पणीहरू