विश्वविद्यालयमा धर्ना : पहिले बरालविरुद्ध, अहिले अर्यालको विरोधमा
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दीपक अर्यालको कार्यकक्षमा विगत १२ दिनदेखि धर्ना दिँदै आएको छ । क्रान्तिकारी त्रिवि इकाई कमिटीका कार्यवाहक अध्यक्ष शिवराज भट्ट नेतृत्वको टोलीले आज पनि धर्ना जारी राखेको छ ।
विश्वविद्यालय अन्तर्गतका ‘अन्तराष्ट्रिय सम्बन्ध र कूटनीति’, ‘द्वन्द्व–शान्ति र विकास’, ‘सामाजिक कार्य’ र ‘लैङ्गिकता’सम्बन्धी कार्यक्रमलाई केन्द्रीय विभागमा गाभिँदा पनि भर्ना शुल्क भने वृद्धि गरिएको भन्दै क्रान्तीकारीले साउन ८ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेको हो । चार अध्ययन कार्यक्रमलाई नौ महिनाअघि केन्द्रीय विभागमा गाभिएपछि शुल्क घट्नुपर्नेमा झन् वृद्धि गरिएको क्रान्तिकारीको आरोप छ ।
भर्ना शुल्क नघटाइएसम्म धर्ना जारी रहने क्रान्तिकारीका कार्यवाहक अध्यक्ष भट्टले बताएका छन् । विवाद समाधानको लागि उपकुलपति अर्यालले कुनै चासो नदेखाएको दावी गर्दै उनले आमरण अनसनको चेतावनी समेत दिएका छन् । क्रान्तिकारीले कार्यकक्ष अगाडि धर्ना दिएपछि उपकुलपति अर्याल कार्यालय गएका छैनन् ।
यसअघिका उपकुलपति प्रा.डा केशरजंग बरालले त्रिविको संरचनामा परिवर्तन गर्नुपर्ने भन्दै चार वाटा ‘सेल्फ सस्टेन’ कार्यक्रमलाई केन्द्रीय विभागमा गाभ्ने योजना अघि सारेका थिए । तर कार्यान्वयन हुनुअघि नै उनले राजीनामा दिएका थिए ।
टिप्पणीहरू