महतोको जम्बो टोलीमा पाँच जना महासचिव

महतोको जम्बो टोलीमा पाँच जना महासचिव

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले ३१ जनाको जम्बो पदाधिकारी टोली बनाएको छ । सो पार्टीले पदाधिकारीसहित केन्द्रीय निकायका प्रमुखहरू चयन चयन गरेको हो । 

३१ सदस्यीय पदाधिकारीमा अध्यक्षसहित ३ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, ५ महासचिव, एक कोषाध्यक्ष र सहकोषाध्यक्ष, दुई प्रवक्ता, ७ उपमहासचिव र ७ सचिव जना सचिव छन् । आफैँ अध्यक्षमा अघि सरेका महतोले कमला कुमारी गुरुङ (पर्वत), रामनरेश राय यादव (सर्लाही) र सुमन सायमी (काठमाडौँ) लाई बरिष्ठ उपाध्यक्ष बनाएका छन् । 

उपाध्यक्षमा कौशल कुमार सिंह, राजीव कुमा झा, राजेन्द्रप्रसाद पाठक र ओमप्रकाश यादव छन् । प्रमुख राजनीतिक दलहरू पदलोलुप भएको आरोप लगाउँदै आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने महतोको दलमा पाँच जना महासचिव बनेका छन् । सात जनालाई सहमहामन्त्री भाग लगाइएको छ । 

पाँच जनालाई महासचिव बनाउने सम्भवत: देशकै पहिलो पार्टी बनेको छ । सप्तरीका केशव कुमार झा, सिन्धुपाल्चोकका मिङमार तामाङ, पाँचथरका रमेश योङहाङ, सुनसरीका सन्तोष कुमार मेहता र सिराहाका अनिल कुमार महासेठ महासचिव बन्न पाएका हुन् । 

काठमाडौँका रविन्द्र कुमार श्रेष्ठ र महोत्तरीका रमण कुमार पाण्डेय प्रवक्ता बनेका छन् । काठमाडौँका नरेन्द्र बज्राचार्यलाई कोषाध्यक्षको जिम्मा लगाइएको छ ।  

नाकाबन्दीका बेला काठमाडौंको दानापानी बन्द गर्न दक्षिणतर्फको नाकामा धर्ना बसेका महतोले महन्थ ठाकुरको लोसपा त्यागेर २०७९ फागुनमा बहुल राष्ट्र निर्माणको लागि राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा गरेका थिए । 'मधेशदेखि पहाडसम्म' भन्ने अभियान पनि त्यतिबेला चलाइएको थियो ।

केही समय अभियानकै नाममा काठमाडौँमा आन्दोलन गरेका महतोले २०८१ कात्तिक ९ गते निर्वाचन आयोगमा ‘राष्ट्रिय मुक्ति पार्टी, नेपाल’ दर्ता गरेका हुन् । त्यसबेला १७३ केन्द्रीय कार्य समितिको विवरण प्रस्तुत गरिएको थियो ।

टिप्पणीहरू