गोलीकाण्डको विरोधमा प्रहरी कार्यालय घेराऊ
सप्तरीमा गोली काण्ड विवाद चर्कँदै गएको छ । राजगढ गाउँपालिका-२ कमलपुरका स्थानीयले प्रहरी कार्यालयअगाडि तोडफोडसहित टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
अवैध मदिरा नियन्त्रणको लागि खटिएको प्रहरी टोलीले गएराति ११ बजेतिर चार राउण्ड हवाइ फायर गरेको थियो । त्यसक्रमा गोली लागेका ३५ वर्षीय लालु यादवको मुत्यु भएपछि स्थानीयले प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रहरी प्रमुख एसपी गौतमकुमार केसीका अनुसार प्रहरी निरिक्षक (इन्सपेक्टर) वीरेन्द्रकुमार यादवको नेतृत्वमा ८ जनाको टोली गस्तीमा गएको थियो । उक्त टोलीले अवैध मदिरा भेटाएपछि तस्करहरुले प्रहरीमाथि आक्रमण गर्यो ।
‘त्यहाँ मदिरा भेटिएपछि केही व्यक्तिले प्रहरीमाथि नै आक्रमण गर्नुभयो, प्रहरीको गाडी जलाउन मट्टीतेल समेत छर्किए’, एसपी केसीले जनआस्थासँग भने, ‘त्यहाँ खटिएका प्रहरी साथीहरु पनि फरक फरक बाटो भएर गस्तीमा खटिएका थिए, तत्काल एकैठाउँमा जम्मा हुने माहोल थिएन, त्यसपछि त्यहाँ खटिएका केही प्रहरीले गोली चलाउनुपर्ने बाध्यता भयो ।’
यादवलाई साढे १० बजेतिर गोली लागेको भए पनि शुरुमा उनकै साथीहरुले लुकाएर राखेको बताइन्छ ।
‘तिघ्रामा एउटा गोली लागेको थियो, गोली लागेको आधा घण्टाभन्दा बढी त उहाँकै साथीहरुले लगेर लुकाए, त्यतिबेला रगत धेरै बगिसकेको थियो, पछि प्रहरीले नै हस्पिटल पुर्याएको हाे, तर उपचारको क्रममा प्राण गयो’, एसपी केसीले थपे ।
अहिले शव गजेन्द्र नारायण अस्पतातमा राखिएको छ । उता स्थानीयले भने प्रहरी कार्यालय घेराऊ गरेका छन् ।
स्थानीयसँग संवाद गर्नुअघि सर्वदलीय बैठक बोलाइएको एसपी केसीले जानकारी दिएका छन् । उनका अनुसार प्रदेश कार्यालयले त्यहाँ अहिले थप सुरक्षाकर्मी खटाएको छ ।
टिप्पणीहरू