विप्लव र प्रकाशबीच एक घण्टा वार्तालाप

विप्लव र प्रकाशबीच एक घण्टा वार्तालाप

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा भूतपूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । आज दिउँसो उनीहरूले भेटघाट गरेका हुन् । 

प्रकाशलाई भेट्न विप्लव हात्तीवनस्थित उनकै निवासमा पुगेका थिए । कुनै समय यौटै पार्टीमा रहेका दुई नेताबीच एक घण्टाभन्दा बढी कुराकानी भएको बताइएको छ । भेटमा समसामयिक राजनीति र पार्टी एकताबारे छलफल भएको बुझिन्छ । 

संसद्को तेस्रो शक्ति माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाको संयोजक रहेका विप्लव पछिल्लो समय राजनीतिक भेटघाटमा निकै सक्रिय छन् । अघिल्लो हप्ता उनले एमाले महासचिव शंकर पोखरेललाई भेटेका थिए । 

शंकर निवासमा भएको भेटमा एकले अर्काको प्रशंसा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरिएको कुरा सञ्चार माध्यमबाट बाहिर आएको थियो । त्यसको केही दिनअघि विप्लवले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मासँग पनि छुट्टाछुट्टै भेटेका थिए ।

प्रचण्डसँग शक्ति संघर्ष चर्काउन खोजिरहेका शर्मा माओवादीमा आलोचित भैरहेका बेला भएको उक्त भेटलाई लिएर विभिन्न आशंका गरिएको थियो । त्यहि आसपास उनले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग पनि वार्तालाप गरेका थिए । 

एकीकृत जनक्रान्ति भन्दै केही समय भूमिगत भएर तीन वर्षअघि खुला राजनीतिमा आएसँगै विप्लवहरूले वामपन्थी ध्रुवीकरणमा जोड दिँदै आएका छन् । यसअघि सो पार्टीले माओवादी केन्द्रसहित विभिन्न कम्युनिष्ट घटकहरुसँग एकता गर्ने निर्णयसमेत गरेको थियो । 

तर, माओवादी अध्यक्ष प्रचण्डका कारण पार्टी एकता टरेको भन्दै आएका विप्लव पछिल्लो समय भने आफैँ अलमलमा देखिन्छन् । पहिले प्रचण्डका कारण एकता भाँडियो भन्ने विप्लवका नेताहरू अहिले एकताप्रति अनुदार रहेको उनीहरुका सार्वजनिक अभिव्यक्तिबाट अनुमान लगाउन सकिन्छ । 

हालै सम्पन्न माओवादीको स्थायी समिति बैठकले नेकपाको नामै किटेर पार्टी एकताको ढोका खोल्ने औपचारिक निर्णय गरेको छ । त्यसनिम्ति वार्ता टोली बनाएर छलफल अघि बढाउने भनिएको छ । तर, विप्लवहरूले सकारात्मक जवाफ दिएका छैनन् । 

अस्ति बसेको नेकपाको अनौपचारिक स्थायी समिति बैठकले अगामी भदौ २२ गते केन्द्रीय समिति बैठक बोलाएर मात्र त्यसबारे निर्णय लिने निर्णय गरेको छ । यो पृष्ठमा माओवादी वरिष्ठ उपाध्यक्ष र विप्लवको भेटलाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू