निष्पक्ष बढुवा प्रक्रियामा सशस्त्र प्रहरी प्रमुखको प्रशंसा

निष्पक्ष बढुवा प्रक्रियामा सशस्त्र प्रहरी प्रमुखको प्रशंसा

राज्यका नियुक्ति, सरुवा र बढुवामा राजनीतिक हस्तक्षेप र चलखेल हुने घटना नेपालमा नौलो होइन । सरुवा वा बढुवामा पक्षपात भएको भन्दै खटाइएको स्थानमा नजाने, गैरहाजिर हुने र नेतृत्वलाई असहयोग गरेका घटना पटक–पटक देखिँदै आएका छन् ।

तर, सशस्त्र प्रहरी बल नेपालमा हालै सम्पन्न बढुवा प्रक्रियामा निष्पक्षता कायम राखिएको भन्दै पूर्व महानिरीक्षक (आईजिपी) पुष्पराम केसीले वर्तमान प्रमुख राजु अर्यालको खुलेर प्रशंसा गरेका छन् । साउन १९ गते सशस्त्र प्रहरी बलले एक जना प्रविधिकसहित सात जना वरिष्ठ उपरीक्षक (एसएसपी), २२ जना उपरीक्षक (एसपी) र ४८ जना नायब उपरीक्षक (डीएसपी) को बढुवा गरेको थियो । कार्यसम्पादन मूल्यांकन, जेष्ठता, कार्यक्षमता, तालिम र योग्यतालाई मापदण्ड बनाइएको उक्त बढुवामा कुनै पनि प्रकारको राजनीतिक वा आन्तरिक हस्तक्षेप नगरेको भन्दै प्रशंसा गरिएको छ ।

पूर्व आईजिपी केसीले फेसबुकमा लेखेका छन् :

‘सशस्त्र प्रहरी बलको गौरवपूर्ण मूल्य, मान्यता र संस्कारलाई अक्षुण्ण राख्दै, जेष्ठता र कार्यसम्पादनलाई प्रधान आधार बनाइ हालै सम्पन्न बढुवा प्रक्रियामा कुनै पनि प्रकारको हस्तक्षेपलाई सफलतापूर्वक निस्तेज पार्न सफल हुनु भएकोमा बलका प्रमुखज्यूप्रति हार्दिक धन्यवाद ।’

उनले निष्पक्ष निर्णयले संस्थाभित्र पेशागत मर्यादा, पारदर्शिता र न्यायिक प्रक्रियाप्रति विश्वास बढाउने उल्लेख गर्दै बढुवामा समावेश भएका सबै अधिकृतहरूलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् । बढुवाको अवसरबाट वञ्चित अधिकृतहरूलाई सान्त्वना दिँदै केसीले धैर्य र आत्मबल कायम राख्न आग्रह गरेका छन् । उनले हस्तक्षेपविहीन पद्धतिमा आधारित निर्णय प्रक्रियाप्रति विश्वास राख्न पनि सुझाएका छन् ।

पूर्व प्रमुख केसीले कसैको दबाबमा नपरी निष्पक्ष निर्णय गर्ने वर्तमान आईजिपीप्रति गर्व गर्नुपर्ने बताउँदै, यस्ता कार्यशैली भविष्यमा पनि कायम रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

टिप्पणीहरू