सहिद मार्गमा पहिरो, योजना कार्यालयको बेवास्ता

सहिद मार्गमा पहिरो, योजना कार्यालयको बेवास्ता

लगातारको वर्षाको कारण सहिद मार्ग अन्तर्गत रुकुम पूर्वको काँकि–तकसेराखण्डमा पहिरो जाँदा बिहानैदेखि सडक अवरुद्ध भएको छ । 

गएराती पुथा उत्तरगंगा गाउँपालिका १२ दिखिउमा पहिरो गएको पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकले जानकारी दिए । उनका अनुसार पहिरो गएपछि यातायातका साधनहरु रोकिएका छन् । 

यस स्थानमा पटक पटक पहिरो जाने गरेको छ । गत बुधबार साँझ गाउँपालिकाले जेसिबी मेसिन लगाएर पहिरो हटाएको थियो । सोहि स्थानमा पुनः पहिरो गएको हो । पहिरो गएको चार दिनसम्म पनि सहिद मार्ग सडक योजना कर्यालय रोल्पाले वेवास्ता गरेपछि गाउँपालिकाले आफ्नै खर्चमा तीन वटा मेसिन लगाएर पहिरो पन्छाएको थियो । 

सोहि स्थानमा पुनः पहिरो गएपछि यातायातका साधनहरु ठप्प भएका छन् । सडक अवरुद्ध भएपछि पुथा उत्तरगंगा गाउँपालिकाको विभिन्न स्थानबाट जिल्ला सदरमुकाम रुकुमकोट, काठमाडौं, रोल्पा लगायतका स्थानतर्फ जाने सर्वसाधारणहरु मर्कामा परेका छन् । 

गाउँपालिकाले पहिरो पन्छाउनको लागि तीन वटा मेसिन तयारी अवस्थामा राखेको जनाएको छ । पहिरो झरिरहेकोले काम सुरु हुन सकेको छैन । पहिरो झर्न रोकिएमा गाउँपालिकाको पहलमा नै पहिरो पन्छाएर सडक सुचारु गर्ने कोशिस रहेको प्रमुख प्रशासकीय अधिकृत बिकले जानकारी दिए ।  बर्षाको समय रहेको र उक्त स्थान पहिरोको जोखिममै रहेकोले आवश्यक सुरक्षा सतर्कताका साथ यात्रा गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

टिप्पणीहरू