एकैदिन पाँच दूतावासअगाडि प्रदर्शन

एकैदिन पाँच दूतावासअगाडि प्रदर्शन

मानव अधिकार तथा शान्ति समाज नेपालले एकैदिन पाँच वटा दूतावासअगाडि प्रदर्शन गर्ने भएको छ । संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रहरूका काठमाडौँस्थित दूतावास सामुन्ने छुट्टा-छुट्टै प्रदर्शन गर्न लागिएको हो ।  

४४ औं अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर आउँदो असोज २ गते दिउँसो अमेरिका, रुस, चीन, बेलायत र फ्रान्सेली दूतावासबाहिर प्रदर्शन गर्न लागिएको शान्ति समाजले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्को प्राथमिक जिम्मेवारीअनुरुपको भूमिका निर्वाह गर्न, आक्रमणकारीको भूमिकाबाट अलग हुन, युद्धरत राष्ट्रको पक्षपोषण नगर्न, युद्धमा संलग्न नहुन भनि ध्यानाकर्षण गराउन यो कार्यक्रम आयोजना गरिएको बताइएको छ  ।  

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघका सदस्य राष्ट्रले हरेक वर्ष सो दिवस मनाउँदै आएका छन् ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरेर उक्त दिवस मनाइन्छ । यसवर्ष त्यतिबेलै दशैं परेकाले समाजले तीन दिनअगावै कार्यक्रमको आयोजना गरेको हो ।

टिप्पणीहरू