हरूवा भनेर कमरेडले कसलाई हेपेको ?
एमालेको नवौं केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी खेमा अत्यन्त कमजोर देखियो । साउन ६ र ७ गते दुर्ई दिनसम्म चलेको बैठकमा ‘केपी बा’ को विकल्प छैन भन्नेहरूको हालीमुहाली नै चल्यो । पूर्वराष्ट्रपतिको सदस्यता खारेज गर्दै पार्टीमा प्रतिवन्ध लगाउने निर्णय त्यसैको निश्कर्ष थियो ।
अनौठोचाहिँ दुर्ई दिन अघिसम्म भंगाल पुगेर विद्यालाई राजनीतिमा फर्किन उक्साउनेहरूले समेत खुट्टा टेक्न सकेनन् । गोकुलप्रसाद बाँस्कोटाहरू सामाजिक सञ्जालमा खुलेर स्टाटस लेख्न हात कमाइरहेका छन् । बाहिरबाट आम नजरले हेर्दा अचम्म लागे पनि एमालेको आन्तरिक राजनीति बुझ्नेहरूका लागि यो कुनै अनौठो कुरा होइन । किनभने जोगी बन्नका लागि राजनीति गरिंदैन । र, अहिले एमालेमा अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई मन नपर्ने कुरा गर्नु भनेको राजनीतिबाट किनाराकृत हुँदै अन्ततः जोगी बन्नु नै हो । त्यसैले युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे र कर्णबहादुर थापाले जस्तै जानाजान जोगी हुने आँट अरूले गरेनन् । केन्द्रीय समिति बैठक उद्घाटन सत्रमा अध्यक्ष ओली जसरी प्रस्तुत भए, त्यसले पनि सदस्यहरूको मनोदशा अनुमान गर्न सकिन्छ । लामो संबोधनका क्रममा ओलीले पूर्वराष्ट्रपतिको प्रवक्ता नबन्न खुला चेतावनी दिँदै उनको पक्षमा वकालत गर्नेहरूलाई पार्टीमा ठाउँ नरहने सन्देश दिएका थिए । ‘पूर्वराष्ट्रपति र प्रम भेट्दा किन ठूलो कुरा गर्नुपर्छ ?’ पार्टी कार्यालयमा अघिल्लो दिन विद्यासँग भएको भेटवार्ताको सन्दर्भ कोट्याएर ओलीले भनेका थिए, ‘कोही उहाँको प्रवक्ता बन्नुभएको छ, किन पर्यो त्यो ?’
पूर्वराष्ट्रपतिको प्रवक्ता भनेर यौटै कमिटीका उपाध्यक्ष युवराज, सुरेन्द्र र कर्णहरूलाई बैठकमा मानमर्दन गरियो । कहिल्यै पार्टीको पक्षमा बोल्दैनन् भनेर आरोपित गर्ने गरिएका सुरेन्द्रतर्फ ओलीको आक्रोश अझ बढी लक्ष्यित रह्यो । किनभने विद्यालाई गेटमै पुगेर स्वागत गरेका उनले भित्र वार्ता चलिरहँदा बाहिर टिभी पत्रकारलाई प्रतिक्रिया पनि दिएका थिए । त्यही कुरालाई समातेर केन्द्रीय कमिटी बैठकमा आफू सरहको नेताको हुर्मत लिइयो । भनियो– ‘मैले त प्रवक्ता नियुक्त गरेको थिइन, कसको प्रवक्ता बनेर के–के बोल्छन् पार्टीले जान्दैन !’ बुहारी कुटेर छोरी तर्साउने ओलीको यस्तो नीतिले विद्या पक्षका केन्द्रीय सदस्यमा त्राहिमामको अवस्था देखिन्थ्यो ।
पूर्वराष्ट्रपति निवास भंगाल जानेहरूलाई ‘अघिपछि लाग्दै हिंडेको’ भनी हेपेर बोलेका अध्यक्ष ओलीले उनीहरूप्रति रोषसमेत प्रकट गरेका थिए । ती नेतालाई हरूवाको संज्ञा दिँदै भनियो– ‘भर्खर चुनाव हारेकाहरू हुल–हुज्जत गरेर आउँदै थिए, उनीहरूलाई बोलाइएको थिएन ।’
एमाले भातृ सङ्गठनको चुनावमा संस्थापन पक्षीय (ओली–शंकर) उम्मेदवारसँग पराजित दुर्ई नेता च्यासलमा पूर्वराष्ट्रपति तथा उपाध्यक्षको स्वागत गर्न पुगेका थिए । अनेरास्ववियुको अध्यक्ष हारेका प्रकाश पौडेल र युवासंघको अध्यक्षमा पराजित सुमन पुरी त्यहाँ थिए । तर, कसैको नाम नलिई ‘हरूवा’ हरू भनेर विद्यानिकट अरू नेतालाई पनि घोच्न खोजेको अहिले आएर प्रष्ट भएको छ । ‘त्यतिबेला त युवासंघ र अखिलको चुनावमा अध्यक्ष हारेकाहरूलाई हरूवा भनेको भन्ने बुझियो, तर खासमा उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पो भनेका रहेछन् !’
पाण्डे गत आम चुनावमा चितवन–१ बाट पराजित भएका थिए । त्यसो त, एमालेको १८ सदस्यीय सचिवालयमा चुनाव हार्ने नेता धेरै छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट, पद्मा अर्याल ओलीको भाषामा हरूवा हुन् । रामबहादुर थापा पनि राष्ट्रिय सभामा पराजित भएका थिए । महाधिवेशनपछि पार्टीको सर्वोच्च थलो मानिने केन्द्रीय कमिटी बैठकमा अध्यक्षले आफू लक्ष्यित गम्भीर आरोप लगाएपछि सुरेन्द्रले पनि दह्रो जवाफ दिए । बैठक समापनका बेला ओली र उनको चर्को भनाभनसमेत भएको थियो । तत्कालीन रुसी कम्युनिष्ट पार्टीका महासचिव ख्रुश्चेभको प्रसंग स्मरण गर्दै उनले ओलीलाई स्टालिनसँग तुलना गरेका थिए ।
‘स्टालिनको बुट बजेको सुन्नेबित्तिकै बोल्सेभिक पार्टी र तिनका सदस्यहरू लगलग काम्थे ! त्यस्तै पार्टी बनाउन खोज्नुभएको हो ?’ स्टालिन शैलीमा पार्टी नचलाउन चेतावनी दिँदै पाण्डेले भनेका थिए । त्यसपछि बैठकको अध्यक्षता गरिरहेका उनले क्रोधित हुँदै भने, ‘यो बैठक खेद प्रकट गर्छ !’ बैठकको प्रारम्भमै यसरी नेताहरूलाई दच्काएका ओलीले उद्घाटनको दिन मञ्चबाट ‘अनुशासन नतोड्न र जथाभावी नबोल्न’ भन्दै विद्याको पक्षमा नलाग्न कडा निर्देशन दिएका थिए । प्रायः पार्टीका बैठकमा आफू बोलेर बाहिरिने गरेका उनी यसपटक भने दुबै दिन राति अबेरसम्म बसे । पूरै समय बैठकमा रहेका ओलीले एक–एकको गतिविधि नियाल्दै सबैको आँखामा आँखा जुधाएर थर्काएका थिए । त्यसकारण धेरै सदस्य चाहेर पनि विद्याको पक्षमा खुल्न सकेनन् ।
‘शीर्ष तहमा बसेर मिलाउनुस्’ भनी बीचमा उभिएर धारणा राख्ने अधिकांश विद्याको राजनीतिक पुनरागमनको समर्थक नै हुन् । बैठकको उद्घाटनमा अध्यक्ष त्यसरी नचर्किएको भए खुलेर बोल्ने तयारीमै थिए तर उनीहरूलाई खुल्न नदिने रणनीति सफल हुँदा केन्द्रीय कमिटी बैठकको एजेण्डामै नरहेको ‘विद्यालाई प्रतिबन्ध लगाउने’ निर्णयलाई अपानिमार्फत कार्यान्वयनमा पठाइएको छ ।
(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू