अध्यक्ष तानाशाह बन्दा रोएको छ हाम्रो मन

अध्यक्ष तानाशाह बन्दा रोएको छ हाम्रो मन

दुई/चार वर्ष पहिल्यैबाट हामीले पार्टीलाई प्रजात्रान्त्रिक प्रणालीमा चलाउनुपर्छ, हैकमवाद लाद्नु हुँदैन भन्दै आएका हौँ । एकल निर्णयका आधारमा पार्टी चलाउनु हुँदैन भनेर राजेन्द्र लिङदेनलाई अध्यक्ष बनाएका हौँ । मैले जे भन्यो त्यही मात्र लागू हुनुपर्छ, कार्यकर्ताहरूले मैले भनेका कुरा अक्षरशः मान्नुपर्छ, विरोध गर्न, फरक मत राख्नुहुन्न । यस्तो मत राख्नेलाई कारवाही वा निश्कासन गर्नुपर्छ भन्ने मनस्थिति अधिकांश नेतामा देखियो । पछिल्लो समय लामो समयदेखि योगदान गरेका नेता–कार्यकर्तालाई पदमुक्त र विधान मिचेर जिम्मेवारी हेरफेर गर्न थाल्नुभयो । क्यान्सर उपचारका क्रममा रहँदा संगठन विभागको जिम्मेवारीबाट मलाई हटाइएको छ । 

परिचालन समितिको संयोजक भएर आन्दोलनको माहोल बनाइरहेको थिएँ  तर त्यसको नेतृत्वसमेत अध्यक्ष आफैले गर्छु भन्न थाल्नुभयो । सामान्य रुपमा कहिले पनि पार्टी बिग्रियोस् भन्ने मान्छे होइन । कसैलाई जिम्मेवारी हटाउने विधि, पद्धति, तरिका हुन्छ होला । जिम्मेवारीबाट हटाउनुअगाडि स्पष्टीकरण दिने मौका त दिनुपर्छ होला । लागेको आरोपबारे प्रष्ट भनिनुपर्छ होला । पुराना कार्यकर्ताहरूको मान मर्यादा नराखी निकाल्न थालेपछि बाध्य भएर निर्वाचन आयोगमा निवेदन हालेका हौँ । निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि जवाफ पठाइयो रे भन्ने सुनेका छौं । 

म पार्टीको निर्वाचित महामन्त्री र सांसद पनि हुँ । मेरो एउटै गुनासो हो कि उहाँले पार्टी सञ्चालनका क्रममा सरसल्लाह गर्नुभएन । व्यक्तिगत रूपले केही पनि चाहिँदैन । ६ पटकसम्म उहाँको निवासमा पुगेर एकल निर्णय नगर्न आह्वान गरेँ । प्रजातन्त्रमा विश्वास गर्ने साथीहरूले धेरै पटक सम्झाए, बुझाए । तर, असफल भए । हिजो मैले नै अगाडि सारेको व्यक्ति भएका कारण मेरो प्रस्ताव स्वीकार्नुहोला, करेक्सन हुनुहोला भन्ने लागेको थियो । प्रजातान्त्रिक प्रणालीबाट चलाऔं भन्दा टेर्नुहुन्न । कतिपय साथी पार्टीभित्रै मिलाउन सकिनेमा किन अरुलाई खेल्न दिएको ? किन निर्वाचन आयोग पुगेको भन्छन् । तर, उहाँ पनि त तयार हुनुप¥यो मिल्नका लागि । पछिल्लो समय उहाँ केपी ओलीकै शैली र क्रियाकलाप पछ्याउँदै हिँड्नु दुखद कुरा हो । 

उहाँको शैलीले राप्रपा फेरि फुट्ने हो कि भन्ने चिन्ता थपिएको छ तर हाम्रोतर्फबाट फुट्न दिँदैनौं । अबको ५–६ महिनाभित्र महाधिवेशन आइसकेको छ । महाधिवेशनको मुखमा उहाँले एकलौटी गर्न खोजेको महसुस गरिरहेका छौं । मलाई अगाडि सार्नुभयो भने पछाडि हट्दिनँ । नेतृत्वले सबैलाई समेटेर सम्हालेर लान सकेन भने एक्सिडेन्ट हुने भइहाल्यो । अहिले त अध्यक्षका विरुद्ध बोल्यो भनेर अध्यक्षका स्वकीय सचिवले मान्छे कुट्न थाले । अब सबै राजावादी, राष्ट्रवादी, हिन्दूवादी, संघीयताविरोधी, गणतन्त्र विरोधी शक्तिहरूलाई एक ठाउँमा ल्याएर गन्हाएको गणतन्त्र र असफल संघीयतालाई खारेज गर्नुपर्छ ।

सबै नेपाली जनताले चाहेको दिनमा राजसंस्था फर्कन्छ । हामीले त बाटो देखाउने मात्रै हो । चैत्र १५ को आन्दोलन दुर्गा प्रसाईंजीले एकल योजना बनाएर अगाडि सार्नुभएको थियो । उता राजसंस्था पुनःस्थापना समितिभित्र आवद्ध थिए ४६ वटा संघसंस्था । राज्यको उद्दण्डता र बल प्रयोगका कारण कार्यकर्ता उत्तेजित भए । बल प्रयोगले त्यो घटना भएको हो । यही घटनामा म २५ दिन हिरासतमा पुगेँ । कार्यकर्तालाई ढुंगामूढा नगर भनेर रोक्न गएको व्यक्तिलाई चार–चारवटा झूठा मुद्दा लगाइयो । देशद्रोह, शान्ति सुरक्षा खल्बलाएको लगायत ।

(कुराकानीमा आधारित)
 

टिप्पणीहरू