कार्यालयको स्वरूप बदलिएपछि चितवनमा प्रहरी सेवा सहज

कार्यालयको स्वरूप बदलिएपछि चितवनमा प्रहरी सेवा सहज

जिल्ला प्रहरी कार्यालय चितवनमा पछिल्लो पटक कार्यालय प्रमुख मात्र फेरिएनन्, कार्यकक्षको मुहार पनि बद्लिएको छ। नयाँ एसपी गोविन्द पुरी आएपछि उनी बस्ने कोठाको स्वरूप फेरिएको हो।

पहिले भर्याङ उक्लिएर जाँदा देब्रेतिर गल्लीबाट सिधै रहेको ढोका हटाएर अहिले सहयोगी बस्ने कोठाको भित्रबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। कोठाको आन्तरिक सजावट पनि आकर्षक बनाइएको छ। एसपी पुरीले आफ्नै रोजाइमा तयार गराएको थ्रिडी डिजाइनमा बनेको कार्यकक्ष धेरैलाई मन परेको छ।

अहिले डिएसपी कक्षमा पनि भित्रै वासरुम बनाइएको छ। कार्यालयमा रंगरोगन गरिएको छ। सर्वसाधारणका लागि समेत व्यवस्थित शौचालय निर्माण हुँदैछ। पछाडि, हिरासतछेउको चौतारोनेर विभिन्न समयमा समातिएका तथा फेला परेका मोटरसाइकलहरू क्यान्टिनतिर कुनामा सारिएपछि चौतारो क्षेत्र खुला भएको छ।

ठूला गाडीहरू पछाडि थन्क्याइएका छन्। हिरासतको भित्तामा ‘अपरेसन वाल’ बनाएर सिल्ड, लाइफ ज्याकेट, हेलमेट, फायर एक्सटिङग्विशरलगायतका आपतकालीन सामग्रीहरू स्ट्यान्डबाइ राखिएका छन्। अब पहिलेजस्तो बुझ्नु–बुझाउनुपर्ने छैन, सिठ्ठी फुक्नासाथ सामान बोकेर तत्काल निस्कन सकिने व्यवस्था मिलाइएको छ।

इलाका प्रहरी कार्यालय माडी र भण्डारामा पनि मुद्दा दर्ता गर्न मिल्ने व्यवस्था भएपछि माडी अस्पतालले पोष्टमार्टमको व्यवस्था गर्दैछ। जुटपानी प्रहरी चौकी र भरतपुर विमानस्थलमा पनि इन्स्पेक्टरको अस्थायी दरबन्दी सिर्जना गरिएको पुरीले बताए।

पदमपुर–जुटपानी क्षेत्रमा बढ्दो शहरीकरणसँगै पर्यटन विकासको सम्भावना पनि देखिन्छ। यस क्षेत्रमा प्राकृतिक स्रोतसाधन उत्खननको निगरानी आवश्यक देखिन्छ। लागुऔषध, चोरी, तस्करीलगायतका अपराधमा संलग्न व्यक्तिहरू लुकी–छिपी बस्ने थलो बन्दै गएकाले प्रहरी संरचना व्यापक बनाइएको बुझिन्छ।

निकट भविष्यमै पूरै कालिका नगरपालिका हेर्ने गरी जुटपानी चौकीलाई अस्थायी इलाका प्रहरी कार्यालयका रूपमा स्तरोन्नति गर्ने तयारी भइरहेको प्रहरी उपरीक्षक बताउँछन्।

अब इच्छाकामना गाउँपालिकाको मायाटारमा समेत असईको नेतृत्वमा चौकी स्थापना गर्न लागिएको जनाइएको छ। जुटपानी र फिस्लिङ प्रहरी चौकीबीच झन्डै ३५ किमि दूरी पर्ने भएकाले त्यसबीचमा प्रहरी युनिट स्थापना गर्न मायाटार उपयुक्त स्थल देखिएको उनले बताए। यो ठाउँ धादिङ, मुग्लिङ र राप्तीसँग पनि जोडिन्छ।

चितवन प्रहरी प्रमुखका रूपमा पुरी आएको दुई महिना पूरा भइसकेको छ र तेस्रो महिनामा प्रवेश गर्दैछन्। नयाँ उर्जासहित देखिएका उनले टाँडी र गीतानगरमा रहेको प्रहरी कार्यालयको जमिन कार्यालयकै नाममा ल्याउन जरुरी देखिएको पनि बताए।

जिल्ला प्रहरी कार्यालय चितवनमा अहिले बैंकिङ कसुरको शाखा पनि छुट्टै बनाइएको छ। गत वर्ष ३२० वटा मुद्दा दर्ता भएकोमा यो वर्ष सात सय नाघ्ने अनुमान गरिएको छ। एसपी पुरीका अनुसार, “अहिले बैंकिङ कसुर ठूलो परिमाणमा बढिरहेको छ।”

प्रहरी प्रमुखको सिर्जनशीलता र नयाँ कामको अनुभूति अहिले कार्यालयमै सर्वसाधारणले गर्न सक्ने अवस्था बनेको छ। नयाँ कामले प्रहरी सेवालाई सहज, सरल र सुन्दर बनाएको छ।

टिप्पणीहरू