बुबाको किरिया बस्दा छोरी बहिस्कृत !
दिवंगत बुबाको दाहसंस्कारपछि किरियापुत्री बसेका छोरीहरु ।
छोरी किरिया बस्नु हुँदैन भन्ने मान्यता तोड्दै काभ्रे जिल्ला पनौती नगरपालिका–१ रयालेमा तीन जना छोरीले दिवंगत बुबाको किरिया बसेका छन् ।
छोराले मात्र दागबत्ती दिने र किरिया बस्ने परम्पराको अन्त्य गर्दै समाजको चेतावनीका बाबजुद विमला,निर्मला र राधिका सापकोटा दिवंगत बुबा हरिप्रसाद सापकोटाको किरिया बसेका हुन् ।
हरिप्रसादकी साहिँली छोरी विमला बनेपा नगरपालिकाकी उपप्रमुख हुन् भने काहिँली निर्मला शिक्षिका र कान्छी राधिका नेकपा एमाले धादिङकी सचिव हुन् । तीनैजना छोरी अरु थुप्रै सामाजिक संघसंस्थामा सक्रिय छन् । विमला र राधिका अधिवक्ता पनि हुन् । जेठी छोरी सुन्तली घिमिरे ‘सापकोटा’ र माइली छोरी कमला तिमल्सिना ‘सापकोटा’ शारिरीक अस्वस्थताका कारण किरिया बसेका छैनन् ।
दिवंगत हरिप्रसादका छोरा छैनन् । पाँच बहिनी छोरी मात्र छन् । सामाजिक संस्कार देखाएर स्थानीयले छोरीहरू काजक्रिया बस्न नहुने भन्दै विरोध गरेका थिए । काजक्रियामा बसे बहिस्कारसम्मको धम्की दिएको हरिप्रसादका छोरीहरुले प्रतिक्रिया दिएकी छन् । छोरीको पनि छोरासरह कर्तव्य हुने भएकाले किरियामा बसेको उनीहरुको भनाई छ ।
१९९३ साल असोज ३ गते रयालेमा जन्मिएका हरिप्रसादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको थियो । छोरा नभएका र छोरीहरुमात्रै रहेका सापकोटालाई दागबत्ती कसले देला र काजकिरिया कसले गर्ला भन्ने चर्चाका बीच जब छोरीहरुले दागवत्ती दिए र काजकिरिया गर्न अग्रसर भए तब समाजले त्यसलाई स्वीकार्न चाहेन । बहिस्कारको चेतावनीकाबीच तीनै जना दिवंगत बाबुको किरियामा बसेका हुन् । सामाजिक रुपमा रहेको कुसंस्कारलाई परिवर्तन गर्न आफैंबाट सुरु गर्नुपर्छ भन्ने सन्देश दिन पनि दागबत्ती दिएको र किरिया बसेको राधिकाले प्रतिक्रिया दिइन् ।
नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अधिकार दिएको छ । छोरीले बुबाको सम्पत्ति लिन,उत्तराधिकारी बन्न र काजक्रिया गर्न बराबर अधिकार राख्दछन् । तर, व्यवहारमा अझै पनि विभेद रोकिएको छैन । विभेद र अन्यायविरुद्ध लड्न सिकाउने बुबाको काजक्रियामै अन्याय खेप्नु परेपछि महिला आन्दोलनको नेतृत्व गरिरहेका छोरीहरुहरुले सामाजिक सन्जालमा आक्रोशसमेत पोखेका छन् ।
आफूहरु किरियामा बस्दै गर्दा बहिस्कार गर्ने मिटिङ बसिरहेको थाहा पाएपछि बनेपा नगरपालिकाकी उपप्रमुख बिमलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्–‘महिलामाथिको विभेद कहिले अन्त्य हुन्छ ? आफ्नो बुबाको काजक्रिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदैछ । यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पीडामाथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरू कसैको बंशमा दखल गरेका छैनौँ, हामी अब थप पीडा सहन सक्ने अवस्थामा छैनौँ ।’
बुबाले विभेद र अन्यायविरुद्ध लड्न सिकाएको स्मरण गर्दै अधिवक्तासमेत रहेकी अर्की छोरी राधिकाले पनि सामाजिक सन्जालमा लेखेकी छन् । ‘बुबा,तपाईंले सानैदेखि विभेद र अन्यायको विरूद्ध लड्न सिकाउनु भयो । कहिलै झुक्न दिनु भएन,आज यो समाज तपाईंको काजक्रियामा हामीलाई झुकाउने प्रयत्न गर्दैछ । याद गर,हामी तिमीहरूले पटक पटक गरेको विभेद र अन्याय भोग्दाभोग्दा चट्टान बनिसकेका छौँ । हिजोजस्तो हरिप्रसादका कमजोर छोरीहरू छन् भन्ने नसम्झ’, विगतलाई सम्झाउने गरी उनले लेखेकी छन् ।
हजारौं छोरीमाथि न्यायका लागि बहिस्कृत हुनसमेत तयार रहेर अघि बढेको उनीहरुको प्रतिक्रिया छ । ‘ख्याल गर,तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौं छोरीमाथि न्याय हुनेछ । खबरदार,यो छलफल र बहस रोक । हाल हामी बहिस्कार हुन तयार छौँ । १३ दिन हाम्रो बुबाको घरमा बसेर काजक्रिया गर्न देऊ,पीडा नदेऊ’ राधिकाले भनिन् ।
सानैमा आमा गुमाएका छोरीहरु बुबाकै अभिभावकत्वमा हुर्किएका थिए । छोरा नभएकै कारण हरिप्रसादले समाजको तिरस्कार भोग्नु परेको थियो । मृत्युपश्चात पनि काजक्रियाको विषयलाई लिएर समाजले बहस चलाएकोप्रति परिवारले दुःख व्यक्त गरेको छ ।
काजकिरिया गर्न शुरुमा सापकोटा परिवारका पुरोहितहरुले अनुमति दिएका थिए । तर,समाजले पुरोहितलाई पनि बहिस्कार गर्ने खालको धम्की दिएपछि ती पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम थालिएको छ । अहिले पुरोहित दिपक सुवेदीले काजकिरिया गराएका छन् ।
सापकोटा दिदिबहिनीहरु किरियामा बसेको र सामाजिक बहिस्कारको प्रयास भएकोप्रति धेरैले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । सापकोटा दिदिबहिनीको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा सयौं पोष्टहरु शेयर भएका छन् ।
टिप्पणीहरू