भारतमा जो जो नेपाली हराए
भारत उत्तरखण्ड प्रदेशको उत्तरकाशीस्थित धराली गाउँमा आएको भिषण बाढीपहिरोमा बेपत्ता दुई दर्जन नेपालीको सनाखत भएको छ । गत मंगलबार धराली गाउँमा अचानक आएको बाढी र पहिरोमा जाजरकोटका १३, जुम्ला र रोल्पाका एक–एक, धादिङका चार र बर्दियाका पाँच जना बेपत्ता भएको खुलेको हो ।
उपलब्ध विवरणअनुसार बाढी पहिरोमा बेपत्ता हुनेमा जाजरकोटको कुशे गाउँपालिका–२, ढाडका ४२ वर्षीय कर्णबहादुर सिंह,४३ वर्षीय मानबहादुर सिंह,४० वर्षीय रामबहादुर सिंह, मुलेडाँडाका १७ वर्षीय रविन सिंह, टालेगाउँका ३५ वर्षीय निमबहादुर सिंह, जुनिचाँदे गाउँपालिका–२, मजकोटका २८ वर्षीय गगनबहादुर शाही, ५० वर्षीय रामबहादुर शाही, ३१ वर्षीय गोरखबहादुर शाही छन् ।
सोही गाउँपालिकाकै वडा नम्बर ३, डाँडाकोटका ३५ वर्षीय हरीबहादुर खड्का, ३१ वर्षीय कोरेशम खड्का, २८ वर्षीया पार्वती खड्का, ३४ वर्षीय केशव खड्का र ३० वर्षीया निर्मला खड्का पनि बेपत्ता छन् ।
यस्तै, जुम्लाको तिला गाउँपालिका–३, का ४५ वर्षीय जनक शाही, रोल्पाका २२ वर्षीय दिपक राना, धादिङको ज्वालामुखि गाउँपालिका–२, काफलपानीका ५३ वर्षीय लालबहादुर तामाङ, ६५ वर्षीया छोलामा तामाङ, ५५ वर्षीया फेलामा तामाङ र ४८ वर्षीय बहादुर तामाङसमेत बेपत्ता सूचीमा छन् ।
बर्दियाको मधुवन नगरपालिका–६, का नरेन्द्र खड्का, सरस्वती भण्डारी, दुई वर्षीय रोमन खड्का, सोही नगरपालिका वडा नम्बर ५, की अमृता परियार र गुलरिया नगरपालिका–२, का अन्दाजी २०–२१ वर्षीय सुवास परियार पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।
यी हुन् उद्धार गरिएका नेपाली
धराली बाढीपहिरोमा परेका १३ जना नेपालीको जीवितै उद्धार गरिएको छ । शुक्रबार एक र शनिबार १२ जनाको उद्धार गरिएको छ । उनीहरुको नाम खुलेपनि थर र ठेगाना स्पष्ट हुन सकेको छैन ।
शुक्रबार उद्धार गरिएकोमा कालिकोटका वीरेन्द्र छन् । शनिबार ठेगाना नखुलेकी प्रशंसा शाह, कोमल शाह र रमन शाहको उद्धार गरिएको हो । उनीहरु एकै परिवारका हुन् । त्यस्तै, गंगा र उनका श्रीमान दिनेशको पनि उद्धार गरिएको छ ।
सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाहीको पनि उद्धार गरिएको हो । गत मंगलबार उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा खिरगंगा नदीमा आएको बाढीले धराली गाउँ तहसनहस पारेको थियो । बाढीपहिरोमा सो क्षेत्रमा बस्दै वा काम गर्दै आएका नेपालीहरु बेपत्ता भएका हुन् ।
टिप्पणीहरू