मोरङका किसानबारे बुद्ध एअरका मालिकहरुको फरक मत

मोरङका किसानबारे बुद्ध एअरका मालिकहरुको फरक मत

मोरङको डाँगीहाटमा वर्षौंदेखि बसोबास गर्दै आएका २० आदिवासी मोही किसान परिवारले बुद्ध एयरका तत्कालीन अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतका कान्छा छोराका कारण आफूहरु सुकुम्बासीमा परिणत भएको आरोप लगाएका छन् । वर्षौंदेखि मोही कायम भई जग्गा जोतभोग गर्दै आएपनि शिवेन्द्र बस्नेतले घरले चर्चेको भाग मात्र छाडेर बाँकी जग्गा कब्जा गरेकाले आफूहरु सुकुम्बासी भएको उनीहरुको दाबी छ ।

डाँगीहाटमा बुद्ध एअरका संस्थापक स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको स्वामित्वमा रहेको जग्गामा दुई दर्जनभन्दा बढी थारु समुदायका मोही किसानहरू वर्षौंदेखि बस्दै र खेतीपाती गर्दै आएका थिए । २०६४ सालमा तत्कालीन अध्यक्ष सुरेन्द्रले लिखित कागज गर्दै, ‘नयाँ कानुन नबनेसम्म’ आफूहरुले बसोबास गर्दै आएको जग्गा जोतभोग गर्न पाउने र पछि कानुन बनेपछि जग्गा आफूहरुकै हुने व्यवस्था मिलाइदिएको स्थानीयको जिकीर छ ।

त्यसपछि मोही किसानहरू आफ्नै जग्गा काय हुने विश्वासमा बस्दै आएको बताउँछन् । तर केही वर्षपछि शिवेन्द्रले श्री बहुमुखी कृषि फर्मको नाममा रहेको उक्त जग्गा पास गरिदिने वाचा गर्दै, करिब २० मोही परिवारलाई कागजमा लगत काट्न लगाएको उनीहरुको भनाइ छ । 

यसविरुद्ध उनीहरुले मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरे तर अदालतले मोही लगत कट्टा गरिएको कागजको आधारमा बसोबास गरिरहेको घडेरी मात्र मोहीको हुने, बाँकी सम्पूर्ण जग्गा शिवेन्द्रकै हुने आदेश गरेपछि उनीहरु बिलखबन्दमा परेका हुन् ।

अदालतको फैसलापछि करिब १० विघा जग्गा जोतभोग गर्दै आएका २० घरपरिवार ‘इन्तु न चिन्तु’ अवस्थामा पुगेको बताउँछन् । आर्थिक अभावका कारण आफूहरूले उच्च अदालतमा पुनरावेदन गर्न नसकेको उल्लेख गरे ।

यता, सुरेन्द्रका जेठा छोरा वीरेन्द्रबहादुर भने बुवाले मोही किसानसँग गरेको सहमति अनुसार आफ्नो अंशमा परेको जग्गा जोतभोग गर्न दिइरहेको बताइन्छ । किसानहरुको आरोप शिवेन्द्रलाई अस्वीकार गरेका छन् । भन्छन्, ‘कानुन, नियम र प्रमाणको आधारमा अदालतले गरेको फैसला मान्नुको विकल्प छैन । यो मेरोविरुद्ध वीरेन्द्रले चलाएको हल्ला हो ।’

टिप्पणीहरू