कैदीको मृत्युपछि अस्पताल बाहिर आगो दनदनी
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा एक कैदीको मृत्यु भएपछि आफन्त तथा स्थानीयले टायर बालेका छन् । कर्तव्य ज्यान मुद्दाका वीरगञ्ज महानगरपालिका–२५ का २८ वर्षीय राहुल साहको निधन भएपछि माहौल तनावग्रस्त बनेको छ ।
आज बिहान जेलमा जिम गरिरहेको बेला उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि लगत्तै नारायणी अस्पताल पुर्याइको तर उपचारका क्रममा भएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार बिहान ८ बजेतिर जिम गरिरहँदा उनलाई वान्ता हुने र श्वासप्रश्वासनमा समस्या भएपछि अस्पताल ल्याइएको थियो । तर, उपचारको क्रममा निधन भएको हो ।
उनका अनुसार राहुल कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ०७९ सालमा जेल चलान भएका थिए । उनलाई २५ वर्ष कैद सजाय तोकिएको थियो ।
यता, राहुलको निधनपछि आफन्त र स्थानीयले नारायणी अस्पतालबाहिर टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरी र चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको उनीहरुको आरोप छ ।
टिप्पणीहरू