दिउँसभर उग्र वीरगञ्ज एकैछिनमा शान्त

दिउँसभर उग्र वीरगञ्ज एकैछिनमा शान्त

कैदीको मृत्युपछि तनावग्रस्त बनेको वीरगञ्ज सामान्य अवस्थामा फर्किएको छ । घटनाबारे छानबिनका लागि समिति गठन गरेपछि माहौल शान्त बनेको बताइन्छ । जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीका अनुसार घटनाको मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव नारायणी अस्पतालमा राखिएको छ । 

जनआस्थासँगको कुराकानीमा उनले भने, ‘अहिले अवस्था सामान्य बनिसकेको छ । शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । छानबिन समिति गठनपछि प्रदर्शन रोकिएको छ ।’ प्रशासनले रेग्मीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समितिलाई घटनाबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । 

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २०७९ सालमा जेल चलान भएका वीरगञ्ज महानगरपालिका–२५ का २८ वर्षीय राहुल साहको उपचारको क्रममा आज निधन भएको हो । बिहान ८ बजे जेलमै जिम गरिरहेका उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि लगत्तै नारायणी अस्पताल पुर्याइएको थियो । 

उनको निधनपछि आफन्त र स्थानीयले नारायणी अस्पतालबाहिर टायर बालेर प्रदर्शन गरेपछि वीरगञ्ज क्षेत्र अशान्त बनेको थियो ।

टिप्पणीहरू