नगरको सहयोगमा प्रहरीलाई नयाँ पल्सर

नगरको सहयोगमा प्रहरीलाई नयाँ पल्सर

स्रोत–साधनको अभावका बाबजुत शान्ति–सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीको मर्का बुझेर स्थानीय सरकारले मोटरसाइकल सहयोग गरेको छ । 

चितवनको रत्ननगर नगरपालिकाले इलाका प्रहरी कार्यालय टाँडीलाई आज तीनवटा मोटरसाईकल उपलब्ध गराएको हो । बिहान एक कार्यक्रमका बीच १२५ सिसिका तीनवटा नयाँ पल्सर मोटरसाईकल चौकीका प्रमुखलाई हस्तान्तरण गरियो । 

‘स्थानीय तह जनताको नजिकको सरकार, र शान्ति सुरक्षा पहिलो कुरा’ भन्दै प्रहरी कार्यमा थप सुधार ल्याउन र यसलाई सहज बनाउन आवश्यक भएको नगर उपप्रमुख यादवप्रसाद पाठकले बताए । कार्यक्रममा बोल्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले भौतिक साधनले पनि उर्जावान बनाउने भन्दै संघको तर्फबाट पनि आवश्यक सहयोग गरिने जनाए । 

‘बेल्सीको पुलबाट टिकौली जंगलको लगभग आधा भाग हाम्रो क्षेत्र पर्दछ । राजमार्गको लम्बाइ ७–८ किमि भएपनि बाक्लो बस्ती र दुर्घटना धेरै हुने गरेको छ’, कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले भने, ‘तुरुन्त घटनास्थल पुग्न सवारी साधन आवश्यक भइरहेकोमा एक भनाइमै आदरणीय नगरप्रमुखज्यूले तीनवटा बाइक किनिदिनुभयो ।’ 

भौतिक स्रोत–साधन जति राम्रो भयो, काम गर्ने कर्मचारीको मनोबल पनि बढ्ने बताउँदै उनले थपे, ‘गाडी भन्दा मोटरसाईकल सजिलो र छिटो पनि । साँघुरो ठाउँमा नि जाने र पिछा गर्न पनि सजिलो ।’ तेल खर्च पनि गाडीमा भन्दा कम लाग्ने उनको बुझाइ छ ।

मातहत कार्यालयलाई मोटरसाईकल उपलब्ध हुँदा खुशी व्यक्त गर्दै जिल्ला प्रहरी प्रमुख गोविन्द पुरीले भने, ‘प्रहरीलाई दिएको चिज नगरपालिकाकै सम्पत्ति हो । नगरपालिका राम्रो हुन सुरक्षा बलियो हुनुपर्छ ।’ 

जिल्ला प्रहरी कार्यालय चितवन अन्तर्गत ३७ वटा प्रहरी युनिट स्थायी र सोही हाराहारी अस्थायी प्रहरी इकाइ छन् । चौहत्तरै युनिटलाई राम्रो र व्यवस्थित बनाउने अभियानमा रहेको एसपी पुरीले जानकारी दिए ।

जमानादेखि डीएसपीले चलाउँदै आएको इप्रका टाँडीको आफ्नै जग्गा-जमिनसमेत छैन । यसैगरी, इलाका प्रहरी कार्यालय गीतानगर र माडीको बरुवा चौकीस्थित जमिन पनि आफ्नो नाममा नभएको भन्दै कार्यालयकै नाममा गराउन अहिले काम भइरहेको प्रहरी उपरीक्षकले बताएका छन् । 

शान्तिचोकको जीर्ण प्रहरी बिट पनि रत्ननगर नगरपालिकाको सहयोगमा चिटिक्क पारिएको छ । 

रत्ननगर नगरपालिकामा झण्डै एकलाख जनसंख्या छ । घना बस्ती रहेकाले सुरक्षा व्यवस्था सहज होस् भनी सुरक्षा निकायलाई चुस्तदुरुस्त बनाउन साधन उपलब्ध गराइएको नगर प्रमुख प्रलाद सापकोटा बताउँछन् ।

अहिले एउटाको दुईलाख ७२ हजार पर्ने ती मोटरसाईकल शान्ति बिट, कृष्ण बिट र टाँडी बिटका लागि उपलब्ध गराइएको जनाइएको छ । ‘हामी पनि सादा पोसाकका प्रहरी हौं । नगरवासीको हितका लागि काम गर्ने हो,’ नगरप्रमुख प्रलाद भन्छन्, ‘मेरो काम भनेको दिने हो, काम गर्ने हो, धेरै बोल्ने होइन ।’ 

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माको पनि उपस्थिति रहेको थियो । नगरपालिकाकी सूचना अधिकारी सविता अर्यालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

टिप्पणीहरू