चक्रे मिलनलाई धरौटीमा छोड्न आदेश
गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनलाई धरौटीमा छोड्न आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासमा आज भएको थुनछेक बहसपछि उनीसहित १९ जनालाई धरौटीमा छोड्न आदेश दिइएको हो । जसअनुसार चक्रे र राजेश भन्ने रोजेश खड्कासँग ३०–३० हजार रुपैयाँ धरौटी मागिएको छ ।
त्यस्तै, गणेशबहादुर बोगटी, डिल्लीराज कंडेल र रितिक लामालाई जनही २० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश भएको छ ।
निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार र सफल भन्ने सुजल शाहीसँग जनही दश हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
गुण्डागर्दी गरेको आरोपमा साउन १५ गते काठमाडौंस्थित साम्बाला होटलमा ‘बर्थ डे’ मनाइरहेको बेला चक्रे मिलनसहित १९ जनालाई प्रहरीले पक्रेको थियो । उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा हिजो जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको थियो ।
टिप्पणीहरू