भक्तपुरमा मोही बाँडफाँड, मालपोतमा २८ लाख छ्याकन

भक्तपुरमा मोही बाँडफाँड, मालपोतमा २८ लाख छ्याकन

घुससहित समातिएका भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता हुनेमा आचार्य र कार्यालय सहयोगी टिकाराम राउत छन् । 

आयोगको टंगालबाट खटिएको टोलीले गत असार ३१ गते उनीहरुलाई साढे २४ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको क्रममा चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको मोही बाँडफाँड तथा नामसारीमा सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाइदिने प्रयोजनार्थ घुस लिएको खुलेको अख्तियारको ठहर छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना हुन मागदाबीसहित उनीहरुविरुद्ध मुद्दा चलाएको हो ।

टिप्पणीहरू