भारतअघि प्रधानमन्त्री ओलीको चीन भ्रमण

भारतअघि प्रधानमन्त्री ओलीको चीन भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएको छ ।

संघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन भदौ १४ गते उहाँ बेइजिङ्ग जान लागेको बताइएको छ । उक्त सम्मेलन अगष्ट ३१ र सेप्टेम्बर १ (भदौ १५ र १६) मा आयोजना हुँदैछ ।

प्रधानमन्त्री नियुक्त भएको एक वर्षभित्रै ओलीकाे दोस्रो पटक चीन भ्रमण हुन लागेकाे हो । गत वर्ष मंसिर १७ गते उहाँले चार दिने औपचारिक भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली जान लागेको भनिएको कार्यक्रममा यसअघि राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएको चर्चा थियो । राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको लागि आन्तरिक तयारीसमेत सुरू गरिसकेको दाबी गरिएको थियो ।

तर, अहिले भने प्रधानमन्त्री जाने गरी तयारी अघि बढेको भनिएको छ । चिनियाँ राष्ट्रपति सि चिनपिङले उद्घाटन गर्ने उक्त शिखर सम्मेलनमा भारतसहित बिभिन्न राष्ट्रका कार्यकारी प्रमुखहरुको सहभागिता रहने भएकाले प्रधानमन्त्री ओलीले नेपालबाट आफू नै जाने निर्णय लिएको बताइन्छ ।

मुख्यत: कूटनीति र अर्थनीतिका बिबिध एजेण्डामा विमर्स गर्दै आएको एससीओमा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन् । सम्मेलनमा यी देशका कार्यकारी प्रमुखहरूको सहभागी रहने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले भ्रमणका दौरान चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य देशका प्रमुखहरुसँग साइडलाइन भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ ।

त्यसो त, प्रधानमन्त्री ओली भदौ ३१ गते भारत जाने कार्यक्रम यसअघि नै तय भइसकेको छ । प्रधानमन्त्री भएलगत्तै दिल्ली जाने चाहना राख्दै आउनुभएका उहाँको अन्तत: १४ महिनापछि हुन लागेको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू