गृहमन्त्रीमाथि रास्वपा सांसदको गम्भीर आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकमाथि गम्भीर आरोप लगाएकी छन् ।
सहकारी काण्डमा जेल परेका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै आएकी उनले गृहमन्त्रीले न्यायालयमाथि हस्तक्षेप गरेको दाबी गरेकी हुन् । गृहमन्त्री लेखकले न्यायालयमा हस्तक्षेप गर्न खोजेकोबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले सार्वजनिकरुपमै अभिव्यक्ति दिइसकेको उनले उल्लेख गरिन् ।
रुपन्देही जिल्ला अदालतमा रविको मुद्दा पेशी चढेको दिन गृहमन्त्रीको कार्यकक्षमा बसेर न्याय परिषद्माको लागि उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि सचिवालयबाट पठाइएको समाचारबारे पनि उनले चर्चा गरिन् । 'मुद्दाको पेशी चढेकै दिन न्याय परिषद्मा उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ ?', कार्कीको प्रश्न छ ।
उनले प्रधानमन्त्रीको हिजोको सम्बोधनप्रति पनि आपत्ति जनाईन् । संसदको रोस्ट्रमबाट प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत तहमा उत्रिएर कुण्ठाको पोको खोलेको कार्कीको भनाइ छ ।
'संसद र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको त्यस्तो अभिव्यक्तिको म जवाफ दिन चाहँदिन, किनकि ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षरमार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छन्', उनले भनिन् ।
घण्टीकी सांसद कार्कीले अदालतमा राजनीतिक कार्यकर्ता भर्ती हुने गरेको कुरा स्वयं प्रधानमन्त्री ओलीले विगतमा स्वीकार गरेको दाबी गरिन् ।
टिप्पणीहरू