विदेशी नागरिकलाई सरकारी नियुक्ति दिन प्रस्ताव
नेपाली कांग्रेसका प्रवक्ता, पूर्व अर्थमन्त्री तथा संघीय सांसद डा. प्रकाशशरण महतले विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनेगरी कानुन सुधारको आवश्यकता औंल्याएका छन् ।
विदेशी नागरिक वा पिआर लिएर विभिन्न देशमा रहेका नेपालीले चाहे उनीहरुलाई सरकारी नियुक्ती दिनुपर्ने उनले बताए । संसद्को अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै डा. महतले विकसित मुलुकहरूमा यस्तो अभ्यास रहेको उल्लेख गरे ।
तर, नेपालमा अनेक बहानामा विदेशीसहित त्यहाँ रहेका नेपालीलाई बन्देज लगाउन खोजिएको भन्दै उनले यो उचित नभएको जिकिर गरेका छन् । डा. महतका अनुसार वाणिज्य बैंक र नेपाल बैंक घाटामा गएपछि व्यवथापनका लागि करारमा विदेशीहरु आएर त्यसलाई ट्रयाकमा ल्याएका थिए । त्यसपछि नेपालीहरुले नै चलाए ।
अहिले पनि सरकारी निकायहरूमा विदेशीलाई भित्र्याएर कम्पनीलाईमाथि उठाउनुपर्ने उनको प्रस्ताव छ ।
‘नीतिगत निर्णय भएपछि सिइओले कार्यान्वयनमा लैजाने हो । अमेरिका, युरोपमा ट्रिलियन डलरका कम्पनीहरु बाहिरको मान्छेले चलाइरहेका हुन्छन्, इण्डियनहरुले चलाइरहेको छ’, महत भन्छन्, ‘योग्य हेर्ने हो, जिम्मेवारीअनुसार काम गरे, नगरेको बोर्डले हेर्ने हो नि ! सीईओले दायाँबाँया गर्नेबित्तिकै आउट गर्ने अधिकार बोर्डलाई भइहाल्छ । त्यसैले हामीले अहिले नयाँ कन्सेप्टमा वैकल्पिक वित्त कोषलाई अघि बढाउन खोज्दैछौं । हामी नयाँ प्रवन्ध गर्न खोजिरहेका छौँ ।’
वैकल्पिक वित्त कोष व्यवस्थापन गर्नका लागि देश-दुनियाँ बुझेको व्यक्ति चाहिने उनको भनाइ रह्यो । त्यसकारण वित्त कोषको सीईओको सबालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन, हेर्नु नपर्ने तर्क छ ।
टिप्पणीहरू